Logo

ओली भन्छन्: एसपिपी सुशील कोइरालाको निर्णय हो, हामीले थाहै पाएनौँ



काठमाडौँ, ३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) पूर्वप्रधानमन्त्री स्व.सुशील कोइरालाले अगाडि बढाएको दाबी गरेका छन् ।

एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै उनले अहिले विरोधीले उनकै नेतृत्वले अगाडि बढाएको भनेर भ्रम फैलाएको आरोप लगाएका हुन् ।

‘अहिले एउटा भ्रम केपी ओलीकै पालामा स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) ल्याएको थियो भनेर कुनै भ्रम राख्नु हुँदैन भन्न चाहन्छु । २०७२ साल असोज ६ गते संविधान जारी भएको तीन दिनपछि आफू सरकारबाट हट्ने तय भइसकेपछि नेकपा एमालेसँग भएको सहमतिअनुसार आफूले सरकार सुम्पनुपर्ने निश्चित थियो नै‚’ उनले भने, ‘त्यो प्रतिबद्धताअघि नै आइसकेपछि प्रधानमन्त्री र रक्षामन्त्री सुशील कोइराला हुनुहुन्थ्यो। उहाँले रक्षामन्त्रीको हैसियतले निर्णय गर्नुभएको रहेछ ।’

सुशील कोइरालाको निर्देशनमै आफूहरूलाई थाहै नदिइ प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लखेको दाबी ओलीले गरेका छन् ।

‘एसपिपीमा पक्ष हुन पाइयोस् भनेर अमेरिकालाई आग्रह गर्ने निर्णय गर्नुभएको रहेछ। त्यो निर्णय असोज १३ गते हाम्रो सैनिक हेडक्वार्टरमा पठाइएको रहेछ । हामीलाई कतै पनि बताइएन । २४ गते म संसदबाट निर्वाचित भएँ, २५ गते शपथ गरे‚’ उनले भने, ‘तर १० गते (कात्तिक)मा त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका रहेछन् । मन्त्रीस्तरको निर्णय गरेको हुँदा यो अगाडि बढाइपाऊँ भनेर लेखेका रहेछन् ।’

प्रधानसेनापतिले एम्बेसीलाई पत्र नलेखेको बताउँदै रक्षा मन्त्रालय वा परराष्ट्र मन्त्रालयको काम भएको बताए । आफू प्रधानमन्त्री भएको १५ दिनपछि गुपचुप नै प्रधानसेनापतिले पत्र काटेको आरोप ओलीले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्