कास्की, १३ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा तीन हजार करोड डलर लगानी गरेको आरोप लगाउनेहरूलाई प्रमाणित गर्न चुनौती दिएका छन् ।
सोमवार एमाले गण्डकी प्रदेशको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले आरोप लगाउनेहरूले त्यसलाई प्रमाणित गरे थप एक हजार थपेर सबै शेयर दिने बताएका हुन् । एमालेलाई बदनाम गराउन आफूमाथि विभिन्न किसिमका आरोप लगाइएको उनको भनाइ छ ।
‘कम्बोडियामा गएर बुझेर मैले तीन हजार करोड लगानी गरेको प्रमाणित गर्नुस् । त्यसमा बक्सिस एक हजार पनि थपेर सबै शेयर दिन्छु’, उनले भने ।
अध्यक्ष ओलीले देशमा राजनीतिक रूपमै डकैती भइरहेको आरोप लगाए । भन्सार र विमानस्थलबाट कर छलेर तस्करी भइरहेको र सरकारले कारबाही गर्न नसकेको उनको आरोप छ । उनले देश टाट पल्टिने अवस्थामा पुगेको दाबी गरेका छन् ।
ओलीले आफू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कहिल्यै नझुक्ने बताउँदै दुर्गा प्रसाईंलाई पक्राउ गरिदिनुपर्यो भनेर नभनेको उल्लेख गरे । ‘मैले दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रचण्ड गुहारेको भनेर प्रचार भइरहेको छ’, उनले भने, ‘त्यस्ताहरूसँग शिर झुक्दैन । भोकै मर्छ, बाघ घाँसका त्यान्द्रा टिप्न जाँदैन ।’







