काठमाडौं, १५ चैत । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।
चैत १४ गते पक्राउ परेका उनीहरूलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो। भदौ २३ र २४ मा भएको प्रदर्शनका क्रममा दमन गरी किशोरहरूमाथि गोली चलाउन आदेश दिएको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उक्त घटनामा संलग्नता देखाउँदै ओली, लेखकसहित तत्कालीन केन्द्रीय सुरक्षा समितिका अधिकारीहरूविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो।
सोही प्रतिवेदनका आधारमा प्रहरीले ‘ज्यान सम्बन्धी कसुर’मा अनुसन्धान अघि बढाएको जनाएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रहरीमा पठाइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाका अनुसार प्रतिवेदन कार्यान्वयनको प्रक्रिया सुरु भइसकेको छ। साथै सुरक्षा निकायका अन्य अधिकारीहरूको विषयमा छुट्टै समिति गठन गरी थप अध्ययन गर्ने निर्णयसमेत गरिएको छ।






