काठमाडौं, १९ फागुन । ९७ औं ओस्कर अवार्डमा ‘अनोरा’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । डार्क कमेडी फिल्म ‘अनोरा’ का लागि शन बेकरले उत्कृष्ट निर्देशकको ओस्कारसमेत जितेका छन् ।
यस पटक ओस्कारमा अनोराले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री, मौलिक पटकथा र सम्पादन गरेर कुल पाँच अवार्ड जितेको छ ।
त्यस्तै द ब्रुटालिस्टका लागि एड्रियन ब्रोडीले उत्कृष्ट अभिनेताको ओस्कार जितेका छन् भने फिल्म अनोराका लागि माइकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् ।
त्यस्तै फिल्म एमिलिया पेरेजका लागि अभिनेत्री जो साल्डानाले उत्कृष्ट सहायक अभिनेत्रीको अवार्ड जितेकी छन् ।
त्यस्तै ब्राजिलियन फिल्म आई एम स्टिल हियरले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड जितेको छ भने फिल्म द ब्रुटालिस्टले उत्कृष्ट छायाँकनका लागि ओस्कार जितेको छ ।
त्यसैगरी आई एम नट अ रोबोट डच एआई फिल्मले उत्कृष्ट छोटो चलचित्रको ओस्कार जितेको छ भने एल मालले एमिलिया पेरेजका लागि उत्कृष्ट मौलिक गीतको ओस्कार जितेको छ । त्यस्तै फिल्म विक्डले उत्कृष्ट निर्माण डिजाइनको ओस्कार जितेको छ ।
अवार्ड वितरण कार्यक्रममा हालै निधन भएका पूर्व ओस्कर विजेता तथा प्रसिद्ध अभिनेता जीन ह्याकम्यानको स्मरण गरिएको छ ।