Logo

कचनकवलको दशगजा क्षेत्रमा सडक निर्माणमा आएका भारतीयलाई सशस्त्रले लखेट्यो



झापा, ९ भदौ । दशगजामा सडक बनाउन सुरु गरेका भारतीयलाई सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षण (डिएसपी) को टोलीले लखेटेको छ ।

आज बिहानै सडक निर्माण गर्न आएका भारतीय नागरिकलाई डिएसपी महेश विष्ट नेतृत्वको टोलीले अवरोध गर्दै त्यहाँबाट धपाएको हो । झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा रहेको प्रस्तावित गुल्मका डिएसपी बिष्टले एसएसबीको संरक्षणमा घरेलु औजार लिएर सडक निर्माण गर्न आएका भारतीयलाई त्यहाँबाट धपाउनु भएको हो ।

नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमा स्तम्भ १२४ नम्बरको सीमा पिल्लर उत्तरतर्फ नेपालको उग्रनारायण बस्ती र दक्षिणतर्फ भारतको जोरबारी बस्ती रहेको छ । त्यसको नजिकै भारतीय सीमा सुरक्षा बलको उपस्थितिमा भारतको जोरबारीका स्थानीयहरुले शनिबार एकसय मिटर सडक निर्माण गरेका थिए । आइतबार बिहान पुनः सडक निर्माण गर्न जोरबारीका स्थानीय आएपछि डिएसपी बिष्टले अवरोध गर्नु भएको हो ।

नेपालका तर्फबाट उग्रनारायण बस्तीका स्थानीय, कचनकवल, सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको टोलीले सडक निर्माण गर्ने कामको प्रतिवाद गरेको थियो । यस क्रममा केही समय बिवाद उत्पन्न भएको स्थानीयले बताएका छन् । भारतीय एसएसबी कदुभिटाका जेआर भाटले धम्कीपूर्ण शब्दमा गुल्म प्रमुख बिष्टलाई बाटो निर्माणमा कुनै गलत नभएको, दशगजा क्षेत्र भनेको दशगजा मात्र हो र दशगजा छाडेर भारतले बाटो निर्माण गर्न पाउने बताउँदा बिष्टले त्यसको प्रतिवाद गरेको बताउनु भएको छ ।

प्रतिवादमा विष्टले दशगजा क्षेत्रभित्र कुनै संरचना बनाउन नदिने जिकिर गर्नु भएको थियो । त्यसका लागि नेपाल सरकारबाट निर्देशन आएको खण्डमा मात्र अवरोध नगर्ने चेतावनी दिएपछि भारतीय पक्ष पछि हटेको थियो ।

विवाद समाधानका लागि खनेको बाटो पहिलाकै जस्तो संरचनामा लाने सहमति भएको थियो । नेपाली र भारतीय सुरक्षाकर्मी तथा दुबै देशका स्थानीयवासीको संलग्नतामा खनेको सडक पुरिएको हो । विवादपछि भारतीय पक्षले सडक निर्माण नगर्ने भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्