काठमाडौँ, ८ मङ्सिर । लोकतान्त्रिक वाम गठबन्धनका साँझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले तेस्रो पटक सङ्घीय संसद्, प्रतिनिधिसभामा विजयी भएका छन् । उनी कञ्चनपुर–३ बाट १२ हजार मतान्तरसहित निर्वाचित भएका हुन् ।
उनले नेकपा एमालेकी निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गर्दै लेखक निर्वाचित भएका हुन् । विसं २०२० मा बैतडीमा जन्मिएका लेखकले ३० हजार पाँच सय २३ मत प्राप्त गरेका छन् । त्यसैगरी पालले १८ हजार चार सय ४८ मत प्राप्त गरे । लेखक यसअघि २०५६ र २०७० सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी २०७४ सालको निर्वाचनमा भने नेकपा (एमाले)का नेता दीपकप्रकाश भट्टसँग पराजित भएका थिए ।
नेता लेखक विसं २०३७ मा आइएस्सी पढ्दै गर्दा नेविसङ्घको तर्फबाट स्ववियु सभापतिमा चुनावमा प्रतिस्पर्धामा पराजित भएका थिए । यसपछि लेखक भारतको लखनँउ विश्वविद्यालय पुगे । उनले भारतबाट बिए, एमए र एलएलबी (कानुन) को अध्ययन पूरा गरेका छन् । विसं २०४८ मा नेता लेखक नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सचिव हुँदै २०४८ देखि ०५६ सम्म कांग्रेस कञ्चनपुरको दुई कार्यकाल सचिव रहेका थिए ।
विसं २०६२ को संसद् स्थापनापछि नेता लेखकले सुरुमा श्रमराज्यमन्त्री र त्यसपछि श्रममन्त्री बनेका थिए । तत्कालीन माओवादी संग विस्तृत शान्ती सम्झौता गर्न पनि नेता लेखकले सदस्यको हैसियतबाट महत्वपूर्ण कार्य गरेका थिए । त्यसपछि नेता लेखक ०६४ को आम निर्वाचनमा प्रत्यक्ष नभइ पार्टीबाट समानुपातिकमा निर्वाचन लडेका थिए ।
विसं २०७० मा चुनाव जिते पछि नेता लेखक भौतिक पूर्वाधार तथा योजना मन्त्री बनेका थिए । त्यस समयमा नेता लेखकले महाकाली नदीमा चार लेनको पक्की पुल, नेपाल, भारत र चीन जोड्ने महाकाली करिडोरको महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।







