Logo

कन्काई पुलपूर्व प्रेसर कुकरसहितको शंकास्पद वस्तु फेला, सेनाको डिस्पोजल टोली खटियो



झापा, १९ पुष । कन्काई नगरपालिका–४ स्थित कन्काई माई पुलपूर्वको सडक किनारमा बिहान एक शंकास्पद वस्तु फेला परेपछि सुरक्षा निकाय सतर्क बनेका छन्। पूर्वपश्चिम राजमार्गको पूर्वपट्टि कालो झोलाभित्र प्रेसर कुकर राखिएको र त्यसबाट तार बाहिर निस्किएको अवस्थामा वस्तु भेटिएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली घटना स्थलमा पुगेको सूचना अधिकारी डिएसपी खगेन्द्र खड्काले बताए। उनका अनुसार सो सामग्री विस्फोटक हुनसक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको छ।

डिएसपी खड्काका अनुसार गर्दै घटना स्थल आसपासमा सुरक्षात्मक घेराबन्दी गरिएको र सतर्कता अपनाइए पनि सडक अवरुद्ध गरिएको छैन ।

शंकास्पद वस्तुको प्रकार र उद्देश्यबारे सेनाको डिस्पोजल टोलीले पुष्टि गरेपछि मात्र स्पष्ट विवरण आउने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्