Logo

कन्काई र विरिङ खोलामा पुल नबन्दा यात्रा जोखिमपूर्ण



झापा, २३ साउन । हुलाकी सडकअन्तर्गत कन्काई र विरिङ खोलाको पुल अझैसम्म नबन्दा त्यहाँ डुंगाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता विद्यमान छ । निर्माणाधीन पुल एक दशक बितिसक्दा अझै पूर्ण रुपमा नबन्दा जोखिम लिएर वर्षायाममा यात्रा गर्नुपर्ने दक्षिणी भेगका नगरिकहरुको बाध्यता अझै हटेको छैन ।

पुल समयमा नबन्दा वर्षामा आवातजावात ठप्प हुने र हिउँदमा पनि डुंगाको भरमा यात्रा गर्नुपर्ने अवस्था रहेको गौरीगङ्जकी टीकामाया लिम्बुले बताइन् । विसं २०६८ मा रु ३४ करोडमा ठेक्का लागेको सात सय २४ मिटर लम्बाइको कन्काई नदीको पुल दुई वर्षदेखि निर्माण व्यवसायी कम्पनी पप्पुको जेभीको पार्टनर महादेव खिम्तीले काम शुरू गरेको छ ।

तर, पुल निर्माणको कामले अझै पनि गति लिन सकेको छैन । वर्षातले गर्दा यतिखेर पुल निर्माणको काम रोकिएको छ । वर्षातमा सधँै काम रोकिने र हिउँदको समयमा मात्र काम हुने भएकाले कामको प्रगति हुन सकेको छैन । यति ठूलो योजनामा कामदार नै थोरै परिचालन गर्ने गरेकाले पनि कामले गति लिन नसकेको स्थानीय अगुवा ईश्वर माझीले बताए ।

पुल नबन्दा त्यहाँ वर्षौदेखि नदी तर्न डुंगाको भर पर्नुपर्ने अवस्था हट्न सकेको छैन । झापामा हुलाकी सडकको अधिकांश कार्य सकिन लाग्दा मुख्य नदी र खोलाको तीन पुल नबन्दा भने सडक सञ्चालनमै समस्या हुँदै आएको गौरीगञ्ज वडा नं. १ चउरी बस्तीका अगुवा रामप्रसाद प्रसाईंले बताए । दोस्रो विरिङ पुल भने आगामी वर्ष काम सकिने निर्माण कम्पन्नी लामा मैनाचुलीका इञ्जिनीयर राघव यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्