
झापा, ५ असार । कमल गाउँपालिकामा आइतबारदेखि भूमीहिन तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाको धनीपूर्जा वितरणका लागि जग्गाको नाप जाँच सुरु गरिएको छ ।
भूमि आयोगको कार्यालय झापा, नापी कार्यालय दमक र गाउँपालिकाको कार्यालयको समन्वयमा पाँच जनाको टोलीले स्थलगत रुपमा काम सुरु गरेको हो ।
कमल ५ स्थित सिम्ले, क्याम्पा क्षेत्रमा आज आयोजित संक्षिप्त कार्यक्रमकाबीच आयोगका अध्यक्ष तिलकसिंह पाण्डेले सो क्षेत्रको १ सय ५० विगाहा जग्गा नाप जाँचको निवेदन उपर अन्तिम सुनुवाई गरेर जग्गा धनीपूर्जा वितरणको प्रकृया अघि बढाइएको जानकारी दिए ।
उनले आयोगले गर्ने काम कारवाहीमा सहयोग गर्न स्थानीयबासीलाई आग्रह पनि गरेका छन । जग्गा नाप जाँच शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले पुस्तौंदेखि जग्गा भोगचलन गरेर पनि स्वामित्व पाउन नसकेका कमल गाउँपालिकाबासीको समग्र भूमि सम्बन्धी विस्तारै अव हल हुने विश्वास व्यक्त गरेका छन् ।
सो क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर आयोगले काम कारवाही अघि बढाएकोप्रति धन्यवाद दिदैं अध्यक्ष राईले यो प्रकृयामा सहयोगी भुमिका निर्वाह गरिदिन सबै जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी संयन्त्र र आम सर्वसाधारणलाई अपिल समेत गरेका छन् ।
उक्त अवसरमा गाउँपालिका उपाध्यक्ष प्रमिला तिवारी, वडाध्यक्ष लाल बहादुर विष्ट, कार्यपालिका सदस्य चन्द्रकला सुब्बा, वडा सदस्यहरु चुरुहाड लावती, ओम प्रधान, कांग्रेसका प्रदेश सभा क्षेत्र सदस्य राजकुमार न्यौपाने, वडा सभापति चन्द्रसिंह राई ,आइतहाङ लिम्बू लगायतको पनि उपस्थिति रहेको थियो ।







