Logo

कम्बोडियाको एक होटलमा आगलागी: १० जनाको मृत्यु, ३० जना घाइते



कम्बोडिया, १४ पुस । थाइल्याण्डको सीमामा रहेको कम्बोडियाको एक होटल क्यासिनोमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कम्बोडियाली प्रहरीले पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनो होटलमा स्थानीय समयअनुसार राति ११:३० बजे आगलागी भएको जनाएको छ ।

एएफपीलाई प्राप्त प्रहरी रिपोर्टमा ‘करिब १० जनाको मृत्यु भएको र ३० जना घाइते भएको’ उल्लेख गरिएको छ ।

अनलाइनमा शेयर गरिएको भिडियो फुटेजमा विशाल कम्प्लेक्समा आगो लागेको देखिएको छ र केही क्लिपहरूमा मानिसहरू जलिरहेको भवनबाट हामफालेको देखिन्छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागीको समयमा क्यासिनोभित्र विदेशी नागरिक थिए ।

थाइल्याण्डको विदेश मन्त्रालय स्रोतका अनुसार उनीहरूले स्थानीय अधिकारीहरूसँग नजिकबाट समन्वय गरिरहेका छन् र घाइतेहरूलाई थाइल्याण्डको सा कायो प्रान्तका अस्पतालहरूमा स्थानान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्