Logo

कम्बोडियामा ज्यान गुमाएका पाण्डेको शव नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन



झापा, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियामा आगलागीमा परेर ज्यान गुमाएकाहरूप्रति दु:ख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार राति भएको आगलागीमा बिर्तामोड नगरपालिका-१ का निराकर पाण्डेसहित १९ जनाको निधनप्रति दु:ख व्यक्त गरेका हुन् ।

उनले निधन भएका पाण्डेको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् । मुख्यसचिव शंकरदास वैरागीलाई उनको शव नेपाल ल्याउन शीघ्र सहजीकरण गर्न सम्बन्धित निकायलाई परिचालन गर्न पनि निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भिजिट भिसामा एक महिनाअघि कम्बोडिया गएका उनी बसेको होटल क्यासिनोमा आगो लागेपछि पाण्डेले १२ औं तलाबाट हाम फालेका थिए ।

आगलागी सुरु भएपछि उनले घरमा फोन गरेर परिवारका सदस्यसँग कुराकानी गरेका थिए । आगलागीबाट बच्न नसक्ने निष्कर्षमा पुगेपछि उनले आफ्नो परिवारका सदस्यलाई भिडियो सन्देश पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्