Logo

कम्युनिष्ट नेताको ‘वर्थ डे’ ! आदर्श कि नक्कल ?



नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मंसिर २६ गते ६५ औँ जन्मदिन । प्रचण्डले औपचारिक रुपमा जन्मदिन मनाएनन् । तर, उनको सचिवालय सदस्य, परिवारका सदस्यदेखि पार्टी नेतासम्मले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई जन्मदिनको शुभकामना दिए । विक्रम सम्वत् २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरापोखरीमा प्रचण्ड जन्मिएका हुन् ।

सामाजिक सञ्जालमा मार्फत प्रचण्डका पूर्व सहकर्मी तथा माओवादी नेता डा. बाबुराम भट्टराईले पनि पूरानो तस्वीर पोष्ट गरेर प्रचण्डलाई वर्थ डेको शुभकामना दिए । नेकपाका कतिपय कार्यकर्ताले मंसिर २५ गते नै प्रचण्डलाई वर्थ डेको शुभकामना दिएका थिए ।

२०२८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर राजनीतिक जीवन आरम्भ गरेका प्रचण्ड दश वर्षे जनयुद्धको नेतृत्वकर्ता, शान्ति सम्झौताको हस्ताक्षरकर्ता, पूर्व प्रधानमन्त्री, नेकपाका अध्यक्ष र वर्तमान राजनीतिको केन्द्रमा दोस्रो व्यक्तिको रुपमा छन् ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन ११ गते बालुवाटारमा ६७ औँ जन्मदिन मनाए । पार्टी स्थायी समितिको बैठकमा बर्थ डे केक काटेर जन्मदिन मनाइएको थियो । प्रधानमन्त्री ओलीको जन्मदिनको सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा राम्रै स्थान पाएको थियो । झापा विद्रोहको पृष्ठभूमिबाट आएपनि ओलीको वर्थ डेमा केक काड्ने कुराले माक्र्सवादी संस्कृतिबाट टाढा हुँदै गएको देखाउँछ ।

पूर्व एमाले वृतमा नेता र मन्त्रीले बर्थ डे मनाउने कुरा त्यति नौलो विषय होइन । केक काटेर वा भोजको आयोजना गरेर बर्थ डे मनाउने विषय सामान्य जस्तै हो । तर पूर्व माओवादी पङ्तिमा भने नयाँ अभ्यासको विषय हो ।

कम्युनिष्ट पार्टीका नेताले जन्मदिन मनाउनुको अर्थ सामन्ती संस्कृति स्वीकार गर्नुको अर्थमा लिइन्छ । पुँजीवादी र बुर्जुवा वर्गले मनाउने संस्कृतिको रुपमा बर्थ डेलाई लिइन्छ । नेपाली संस्कृतिमा जन्मदिनको कुनै विशेष कार्य हुँदैन । केक काटेर बर्थ डे मनाउने विषय पूरापूर पश्चिमा पुँजीवादी संस्कृति हो ।

कम्युनिष्ट नेताको जन्म वा मृत्यु नमनाइने होइन, मनाइने गरिन्छ । माक्र्स, लेनिन, माओ जस्ता नेताको जन्म र मृत्युमा दिवस मनाइने गरिएको छ । तर, त्यस्ता दिवस मूलतः विचार निर्माणसँग जोडिएका हुन्छन् । माक्र्स, लेनिन, माओ जस्ता नेता विश्व कम्युनिष्ट आन्दोलनमा प्राधिकार हुन् ।

नेपालको सन्दर्भमा त्यो प्राधिकार पुष्पलाल श्रेष्ठमा जान्छ । पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक मात्र होइनन् । उनी नेपालको विशिष्ठतामा आधारित कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिक मार्गमा हिँडाउने वैचारिक नेता पनि हुन् । कम्युनिष्ट आन्दोलनमा वैचारिक प्राधिकार भएका नेताको दिवस मनाउनु आश्चर्यको कुरा हुँदैन । त्यो विचार निर्माणको विषयसँग जोडिने गर्दछ ।

कम्युनिष्ट पार्टी र तिनका नेता कार्यकर्ता जन्मदिन मात्र होइन, धर्म र संस्कृतिका सम्बन्धमा पनि अलग दृष्टिकोण राख्दछन् । माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले ‘धर्म अफिमको नसा हो’ भनेका छन् । उनको यो भनाइलाई सामन्ती र पुँजीवादी विचार बोक्नेले निकै आलोचना गर्ने गर्दछन् । धर्मका नाममा मानिस अन्धविश्वास र अवैज्ञानिक विचारको शिकार हुने ठम्याइ छ । उनले मानिस धर्ममा अफिमको नसामा जस्तै एकोहोरो लाग्ने माक्र्सले व्याख्या गरेका छन् । माक्र्सले धर्मलाई शोषण गर्ने हतियार पनि भनेका छन् ।

धर्म सम्बन्धी माक्र्सको यस भनाइलाई नेपालका कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले नअपनाएका होइनन् । तर, उनीहरुले कम्युनिष्ट मूल्य, मान्यता र संस्कृति स्थापित गर्न सकेनन् । उनीहरु माक्र्सवाद र माओ विचारलाई व्यवहारमा प्रयोग गर्ने प्रयास गर्दथे । माओवादी नेता कार्यकर्ताका लागि पूजा पाठ, धर्मकर्म, विवाह जस्ता कार्य वाइयात र फाल्तु जस्तो लाग्थ्यो । उनीहरुको त्यसमा खासै संलग्नता हुँदैन थियो । तर, आज तिनै कार्यमा क्रमशः अभ्यस्त हुँदै जान थालेका छन् । जनयुद्ध लडेको पङ्ति पुँजीवादी संस्कृतिबाट प्रभावित भएका छन् । उनीहरुले त्यसलाई स्वीकार गरेका छन् ।

जातीय तथा सांस्कृतिक विषयमा केही सकारात्मक भए पनि धर्म र परम्परामा माओवादी आन्दोलन सकारात्मक थिएन । त्यसरी नै विवाह, जन्म, मृत्युमा पनि माओवादी नेता, कार्यकर्ताको आफ्नै बुझाइ थियो । उनीहरुले जनयुद्धका समयमा जनवादी विवाह स्थापित गर्ने प्रयास गरे । ‘मानिस अन्तर्राष्ट्रिय जति हुनेछ’ भन्ने मान्यतालाई स्वीकार गरी अन्तरजातीय विवाहलाई तत्कालिन माओवादी पार्टीले प्रोत्साहित गरेको थियो ।

फजुल खर्च अस्वीकार गरी स्टेज म्यारिज र जनवादी विवाहको अभ्यास गरे । कुरा मिल्यो, मन मिल्यो भने पार्टीको स्वीकृतिमा विवाह हुन्थ्यो । यो युद्धकालिन अवस्थाको विवाह थियो । जनयुद्धमा विवाहको नयाँ मोडलको अभ्यास भए पनि शान्ति प्रक्रियासँग त्यो ओझेलमा पर्यो ।

पार्टी वा आफैँ गरिएका त्यस्ता विवाह शान्तिप्रक्रिया पछि संटकमा परे । त्यस्ता धेरै विवाह सम्बन्ध विच्छेदमा परिणत भए । मृत्युमा पनि कोरा बार्ने कुरालाई अस्वीकार गरे । जनयुद्ध कालमा धेरै माओवादीका धेरै नेता कार्यकर्ताले बुबाआमा लगायत आफन्तको किरिया गरेनन् । शान्तिप्रक्रियाको केही वर्षसम्म पनि कयौँ नेता कार्यकर्ताले त्यसलाई निरन्तरता दिए । माओवादी सुप्रिमो प्रचण्ड स्वयम्ले आमाको किरिया गरे भने बुबाको गरेनन् । पुत्र प्रकाशको मृत्युमा पनि किरिया गरिएन । शोक मान्ने, शोकसभा मात्र भयो ।

प्रचण्डले दशैँ जस्तो साझा संस्कृति नमानेको र टीका नलगाएको विषयमा व्यापक आलोचना हुने गरेको छ । सामाजिक सञ्जालमा प्रचण्डको तीव्र आलोचना पनि हुने गरेको छ । उनलाई क्रिश्चियनको आरोप लाग्यो । तर, प्रतिनिधि सभा निर्वाचनको सम्मुख दुई वर्ष अघि दशैँमा प्रचण्डले मामाको हातबाट टीका ग्रहण गरेर धेरैलाई आश्चर्य बनाए ।

प्रचण्डको दशैँ टीकाले पनि राम्रै चर्चा पायो । निर्वाचनमा भोट नबिग्रियोस् भनेर टीका लगाएको, आलोचनाबाट बच्न टीका लगाएको, वैचारिक रुपमा स्खलित् भएर टीका लगाएको, ढिलै भए पनि बुद्धि फिरेको जस्ता सामाजिक सञ्जालमा टिप्पणी भएको थियो ।

माक्र्सवादीले जन्म र मृत्यु प्राकृतिक नियम हो भन्ने मान्दछन् । भौतिक शरीर मृत्युपछि भौतिक रुपमै समाप्त हुने मान्दछन् । धर्म, संस्कृति, विवाह जस्ता विषय मानव निर्मित भएको माक्र्सवादी दृष्टिकोण छ । नेपालको सन्दर्भमा भने कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता आन्दोलन र क्रान्तिका समयमा माक्र्सवादी क्रान्तिकारी हुने तर सामान्य अवस्थामा क्रान्तिका आदर्श, मूल्य, मान्यता तिलाञ्जली दिने काम हुँदै आएको छ ।

तत्कालिन एमाले पङ्ति २०४६ को जनआन्दोलनपछि सांस्कृतिक रुपमा रुपान्तरण भएको हो । माओवादी पङ्ति पनि २०६३ को शान्ति प्रक्रियापछि रुपान्तरित भएको हो । माओवादी नेता कार्यकर्ताले आफ्नो र छोराछोरीको भव्य विवाह गर्न, जन्मदिन मनाउन केही संकोच मान्दै आएका थिए । तर, एमालेसँग पार्टी एकता भएपछि भने त्यसमा सहजता पाएका छन् ।

अहिले पूर्वमाओवादी नेताले आफ्ना छोराछोरीको भव्य विवाह गर्न थालेका छन् । ठूला पार्टी प्यालेस उनीहरुका रोजाइमा परेका छन् । घर, धनसम्पत्ति, गरगहना जस्ता वस्तु रोजाइका विषय बन्दै गएका छन् ।

जनयुद्धका डेपुटी कमाण्डर बनेका जनार्दन शर्मा प्रभाकरले आफ्नी छोरीको विवाह निकै ठूलो खर्चमा गरे । महङ्गो पार्टी प्यालेस र भिआईपीको मात्र प्रवेशले चर्चा पाएको थियो । जनयुद्धको जनवादी विवाह र अन्तरजातीय विवाह सम्झेर सामाजिक सञ्जालमा कार्यकर्तादेखि सर्वसाधारणले आलोचनात्मक प्रतिक्रिया दिएका छन् ।

हिजो जनयुद्धका सुप्रिमो प्रचण्डले अपनाउने हरेक क्रियाकलाप कार्यकर्ताका लागि अनुकरणीय हुन्थ्यो । उनको हेयर स्टायल, बोल्ने शैली, हाउभाउ समेत कार्यकर्ताले कपी गर्ने गर्दथे । तर, विस्तारै धर्म, परम्परा, विवाह, भोज, भतेरमा नेता खुल्दै गएपछि कार्यकर्ता पनि त्यसैमा अभ्यस्त हुँदै गएका छन् । प्रचण्ड पनि सांस्कृतिक रुपान्तरणको झन्झट र तनाव व्यहोर्नुभन्दा स्वीकार्नुमा सहजता महसुस गर्न थालेका छन् ।

प्रचण्डले दशैँ, तिहार जस्ता सांस्कृतिक पर्व स्वीकार गर्नुलाई स्वभाविक मान्न सकिएला । तर, जन्म, मृत्यु र विवाहमा पुँजीवादी शैली स्वीकार गर्नुपर्ने बाध्यता आउँदै गएको भान हुन्छ । प्रचण्डले पुँजीवादी संस्कृति र शैली विस्तारै अपनाएमा अब त्यस्तो कुनै आश्चर्य हुने छैन । नेपालका धेरै कम्युनिष्ट नेता, कार्यकर्ता माक्र्सवादी सोच र संस्कतिबाट स्खलित हुँदै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्