काठमाडौँ, ७ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताएका छन् ।
आइतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले कम्युनिष्ट पार्टीहरू आफ्ना आफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताएका हुन् ।
उनले मिल्नसक्ने, सहकार्य गर्नसक्नेहरूबीच सहकार्य र एकता गरेर अघि बढ्ने बताए । उनले कम्युनिष्टहरूलाई जति मिलाउन सक्यो त्यति धेरै शक्ति आर्जन गर्न सकिने बताए । अध्यक्ष नेपालले कम्युनिष्टहरू जति धेरै विभाजित हुन्छन् त्यति धेरै नोक्सान हुने बताएका छन् ।
उनले भने, ‘कमरेड वामदेव गौतमले कम्युनिष्ट पार्टी शक्तिलाई मिलाऊँ भनेर जोड दिनुभयो । सबै कम्युनिष्ट पार्टीहरू आफ्ना आफ्ना पसल थापेर बसेका छन्, आफ्ना आफ्नै पाराले चलिरहेका छन् । त्यसका बाबजुद पनि हामीले हरेक खानु हुँदैन । उहाँको संकल्प, उहाँको भावना अत्यन्त राम्रो छ । यस अर्थमा जो जो जति मिल्न सक्छन् मिल्दै जाने हो । सहकार्य गर्दै जान सक्छन्, सहकार्य गर्दै जाने हो, यस अर्थमा हामीले हरेस खान जरुरी छैन, मेहनत गरेर प्रयत्न गर्नुपर्छ । जति शक्तिलाई मिलाउन सकियो, त्यत्ति हामी बढी शक्ति आर्जन गर्नसक्छौँ। त्यति धेरै उर्जा पैदा गर्नसक्छ । जति हामी विभाजित बन्छौँ त्यत्ति धरै नोक्सान हुन्छ, कम्युनिष्ट आन्दोलनको एकता, एकताबद्ध बनाउनको निम्ति हाम्रो तर्फबाट प्रयत्न हुनेछ ।’







