जनकपुरधाम, ३ साउन । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवाद स्थापनाका लागि कम्युनिष्ट शक्तिबीच एकता आवश्यक रहेको बताएका छन् ।
जनकपुरधाममा सोमबार आयोजित एमालेका मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले कम्युनिष्ट पार्टी आपसमा फुटेर मुलुकमा समाजवाद आउन नसक्ने भएकाले समाज रुपान्तरण गर्न र समाजवाद ल्याउन सबै कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताएका हुन् ।
“अन्य पार्टीसँग एकता वा गठबन्धन गरेर मुलुकमा समाजवाद ल्याउँछु भन्ने कुरा सपनामात्रै हो”, उनले भने, “ लक्ष्य प्राप्त गर्न पहिला राज्यसत्ताको नेतृत्व आफ्नो हातमा आउनुपर्छ, अनिमात्रै एजेण्डा पूरा गर्न सकिन्छ ।”
स्थानीय तहको निर्वाचनमा भएको कमी-कमजोरीलाई समीक्षा गरी अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिदै आपस–आपसमा भिडेर एकअर्कालाई हराउने कामले कसैको भलो नहुने नेता पाण्डेले बताए ।







