काठमाडौँ, ३१ जेठ । नेकपा (एमाले)का सांसद तथा पूर्व-अर्थमन्त्री सुरेन्द्र पाण्डेले करको विषय राष्ट्रिय सुरक्षा जस्तै भएको र यसको गोपनीयता सार्वजनिक गर्नु गम्भीर अपराधका रुपमा अर्थ्याएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै सांसद पाण्डेले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरूसँगको साँठगाँठमा करको दर हेरफेर गरेको आरोप लागेकाले नैतिक रूपमा पदमा बस्न नमिल्ने पनि बताए ।
पाण्डेले गोपनीयताको विषयलाई बाहिर सार्वजनिक गर्नु गम्भीर अपराध भएको भन्दै अर्थमन्त्री शर्मामाथि छानविन हुनुपर्ने बताए ।
सांसद पाण्डेले यस विषयमा संसदले पनि कदम चाल्नुपर्ने बताए । ‘यति गम्भीर प्रश्नमा प्रधानमन्त्रीले यसको जवाफदेही लिनुपर्छ कि पर्दैन? यो केवल अर्थमन्त्रीको मात्रै विषय हो कि के हो? यसको जानकारी संसदलाई चाहिन्छ । खासगरी करको विषय ज्यादै गोपनीय विषय हो र राष्ट्रिय सुरक्षा जस्तै विषय हो । यस्ता गोपनीयताहरू बाहिर सार्वजनिक गर्ने र गोपनीयताहरूमा अझ साँठगाँठ र मिलेमतो गर्नेजस्ता कुराहरु गम्भीर अपराध मानिन्छन्’, उनले भने ।







