काठमाडौं, १९ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार रुपैयाँ बराबरका विभिन्न देशका मुद्रा लुकाएर विदेश जान लागेका नेपाल एयरलाइन्सका एक कर्मचारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका-१ निवासी ५० वर्षीय कमल नारायण विश्वास रहेका छन्। हाल उनी काठमाडौँको वनस्थलीमा बसोबास गर्दै आएका थिए।
नेपाल एयरलाइन्समा करिब १६ वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड इक्विपमेन्ट अपरेटरका रूपमा कार्यरत विश्वास सोमबार राति साढे ८ बजे बटिक एयरको उडानमार्फत भिजिट भिसामा मलेसियाको क्वालालम्पुर जान लागेका थिए।
विमानस्थल सुरक्षा जाँचका क्रममा गरिएको ब्यागेज स्क्रिनिङ तथा शारीरिक खानतलासीका क्रममा उनको लगेजभित्र फलामको कराइभित्र लुकाएर राखिएको अवस्थामा विभिन्न देशका मुद्रा फेला परेको विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिलवालले जानकारी दिएका छन्।
प्रहरीका अनुसार उनले बोकेको उक्त रकमको वैधानिक स्रोत तथा दरपिठ सम्बन्धी प्रमाण फेला परेको छैन। साथै, उनी हालसम्म २६ पटक विदेश यात्रा गरिसकेको विवरण पनि देखिएको प्रहरीले जनाएको छ।
उक्त घटनापछि उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुरमा बुझाइएको विमानस्थल प्रहरीले जनाएको छ।









