काठमाडौँ, ७ माघ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताएका छन् ।
शनिवार कृषि विकास बैंकको ५६ औं वार्षिक साधरण सभामा बोल्दै गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै संगठित रुपमा बैंकबाट लिएको कर्जा तिर्नुपदैन भन्नु अराजकताको माथिल्लो रुप भएको बताएका हुन् ।
उनले बैंकबाट कर्जा लिएर बैंकको कर्जा वा ब्याज नतिर्ने भन्दै संगठनको नाममा समूह बनाएर सडकमा उफ्रिएर नतिर्ने भनि संगठित रुपमा दबाब दिन नमिल्ने बताए ।
गभर्नर अधिकारीले पछिल्लो समय बैंक तथा समग्र वित्तीय प्रणालीमा नै यस्ता नयाँ किसिमका चुनौतीहरु देखिएको बताएका हुन् ।
उनले बैंकको कर्जा सार्वजनिक सम्पत्ति, सर्वसाधरणको निक्षेप भएको बताए । उनले वाणिज्य बैंकहरुको अधिकांश कर्जा सर्वसाधरणको निक्षेप भएको भन्दै कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनियता तथा वित्तीय स्थायित्वमा समस्या आउने बताएका छन् ।
उनले व्यवसायी वा उद्यमीले लिएको कर्जा निश्चित समयभित्र तिर्ने स्वीकार गरेर लिएकाले कर्जा नतिर्नु वित्तीय अपराध हुने दाबी गरे । गभर्नर अधिकारीले यस्ता अराजक कुरालाई कसैले पनि प्रश्रय दिन नहुने भन्दै राष्ट्र बैंक यो विषयमा शतर्क र सजग रहेको उल्लेख गरेका छन् ।







