कर्णाली, २६ कात्तिक । कर्णाली प्रदेशको आगामी मुख्यमन्त्रीको लागि सात जनाको नाम चर्चामा आएको विश्लेषकहरूले बताएका छन् ।
चर्चामा रहेका नेताहरूमध्ये मुख्यमन्त्रीमा कसको सम्भावना बलियो बन्छ भन्ने चाहिँ आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा निर्वाचनले तय गर्ने ठानिएको छ ।
निर्वाचन परिणामले कांग्रेस नेतृत्वको गठबन्धनबाट मुख्यमन्त्री बन्ने अवस्था देखिएमा यो प्रदेशको नेतृत्व कुन दलको भागमा पर्छ भन्ने अझै स्पष्ट छैन ।
कांग्रेसको तर्फबाट जुम्लाका ललितजंङ्ग शाही, जाजरकोटका राजिवविक्रम शाह र यसअघि मुख्यमन्त्री बनिसकेका हुम्लाका जीवनबहादुर शाहीको नाम मुख्यमन्त्री बन्न सक्ने नेताको रूपमा चर्चामा आइरहेको विश्लेषकहरूले बताएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट विन्दमान विष्ट र राजकुमार शर्मा मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएका छन् ।
नेकपा एमालेको नेतृत्वमा प्रदेश सरकार बन्ने अवस्था आए यामलाल कँडेल र विजयकुमार शाहको नाम चर्चामा रहेको एक जना राजनीतिक विश्लेषक रमेश आचार्यले बताए ।
उनले भने, “कर्णालीमा केही स्वतन्त्र उम्मेदवार बनेका भएपनि उनीहरू मुख्यमन्त्रीको चर्चामा आउन नसक्ने सम्भावना छ ।” बिबिसी न्यूजबाट







