जुम्ला, २२ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीमा प्रतिगामी, निरंकुशतावादी र सामन्तवादीलाई शून्य बनाउनु पर्ने बताएका छन् ।
जुम्लामा मंगलबार आयोजित चुनावी सभामा अध्यक्ष प्रचण्डले प्रतिगमनकारी, निरंकुशतावादी र सामन्तवादीलाई शून्य बनाएर कर्णालीबासीले रेकर्ड राख्नुपर्ने बताए । उनले भने, ‘तपाईं कर्णालीवासीले प्रतिगमनकारीलाई शून्य बनाएर रेकर्ड बनाउनु पर्नेछ ।’ प्रचण्डले कर्णाली प्रदेश जागरण र परिवर्तनको प्रदेश, न्याय समानताको पक्षमा दृढतापूर्वक उभिने प्रदेशका रुपमा खडा गर्नु पर्ने बताए । जुम्लावासीले रेकर्ड बनाए कर्णालीभरि नै त्यही बन्न उनले बताए ।
प्रचण्डले निर्वाचन दुई विचार, दुई प्रवृत्ति, दुई संस्कृतिका बीचको लडाईं भएको बताए । उनले यो सामान्य औपचारिक चुनाव मात्रै नभएको बताए । ‘यो निर्वाचनमा एउटा गठबन्धन ७० वर्ष लडेर प्राप्त गरेका अधिकार रक्षा गर्न चाहने पक्षमा उभिएको छ, त्यसको नेतृत्व हामीले गरेको छौं,’ अध्यक्ष प्रचण्डले भने, ‘अर्को गठबन्धन संविधान तथा जनताले पाएको अधिकार उल्ट्याउन चाहने केपी ओली नेतृत्वको गठबन्धन छ । निर्वाचन जनताको अधिकारको रक्षा गर्ने कि यसलाई उल्ट्याउने भन्नेका बीचको लडाइँको हो ।’
दुई तिहाइको सरकार बचाउन नसक्ने, संविधानमाथि घात गर्ने, संसद् विघटन गर्ने र पार्टी विघटन गरेर धुजाधुजा पार्ने एमाले अध्यक्ष ओली यही निर्वाचनबाट पत्तासाफ हुने प्रचण्डले बताए । ओली नेतृत्वको गठबन्धनलाई भोट दिनु भनेको निरंकुशता र अराजकताको भूमरीतर्फ देशलाई लैजान अनुमति दिनु भएको बताए । उनले देशलाई फेरि विघटन र प्रतिगमनतिर जान नदिन सचेत भएर वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा भोट खसाल्नसमेत आह्वान गरे ।
देशमा राजनीतिक स्थिरता र आर्थिक विकास आवश्यक रहेको भन्दै अध्यक्ष प्रचण्डले ७० वर्षसम्म लडेर ल्याएको संविधानलाई च्यात्ने केपी ओलीले जनतासँग माफी माग्नुपर्ने बताए । ओलीले संविधान मिचेर लोकतन्त्रका आधारभूत मूल्यमान्यता भत्काएपछि आफूहरुले वाम लोकतान्त्रिक शक्ति मिलेर अहिलेको गठबन्धन बनाएको उनले बताए । ‘अब नयाँ नेपाल निर्माण गर्ने अभिभारा पनि यही गठबन्धनलाई भएकाले गठबन्धनको पक्षमा मत खसाल्नु आग्रह गरे ।
कर्णालीको विकास सरकारको प्राथमिकतामा
प्रचण्डले निर्वाचन पछि वाम–लोकतान्त्रिक गठबन्धनको सरकार बन्ने दाबी गरे । उनले कर्णालीको विकास पूर्वाधारका लागि विशेष प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे । कर्णालीको सडक पिचसँगै फराकिलो बनाउने उनले आर्थिक गतिविधि र व्यापार व्यवसायको विकासका लागि सडक पूर्वाधार अति आवश्यक भएको बताए ।
‘कर्णालीमा पहिले बिरामी ओसारिन्थ्यो, अहिले डाक्टर उत्पादन गरेर देशभरिका बिरामीलाई उपचार गर्न पठाउन सक्ने भइसकेको छ’, अध्यक्ष प्रचण्डले भने, ‘हामीले कर्णाली र सुदूरपश्चिमको भौतिक विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन विकासमा जोड दिने भनेका छौं । कर्णालीको विकास हाम्रो दिमागमा सबैभन्दा अघि नै छ । प्रदेश र संघको निर्वाचनपछि गठबन्धनको सरकार बन्छ । अत्यधिक बहुमत पनि आउँछ । अनि समृद्ध कर्णालीको अभियान अघि बढ्छ ।’
अध्यक्ष प्रचण्डले आजै जुम्लाको सिञ्जा, कालिकोटको मान्म, रास्कोट र हुम्लाको सर्केगाडमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् ।







