कालीकोट, २९ पुस । कर्णाली प्रदेशका सात सय १८ वडामध्ये ७० वडा अर्थात् १० प्रतिशत वडामा मात्र पूर्ण विद्युतीकरण भएको पाइएको छ ।
नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय सुर्खेतका अनुसार चार सय १७ वडा अर्थात् ६६ प्रतिशत वडामा आंशिक विद्युतीकरण पुगेको छ । त्यस्तै कर्णाली प्रदेशका एक सय ७७ वडा अर्थात् २५ प्रतिशत वडामा अझै विद्युत् पुग्न सकेको छैन ।
विद्युतीकरण नभएका कर्णालीका एक सय ७७ वडा कार्यालयहरूले सोलारको भरमा नागरिकलाई दैनिक सेवा प्रवाह गर्दै आएका छन् ।
सुर्खेत पुन्चपुरी नगरपालिका १ र ७, चौकुने गाउँपालिका १, २, ३, ४ र ५, बराहाताल गाउँपालिका ३, ४ र ६, सल्यानको वनगाडकुपिण्डे नगरपालिका १२, जाजरकोटको छेडागाड नगरपालिका २, ३, ४, ७, ८, ९ र १०, त्रिवेनी नलगाड नगरपालिका ९ र १३, कुसे गाउँपालिका वडा नम्बर ५ बाहेकका ८ वडामा विद्युतीकरण हुन सकेको छैन ।
त्यस्तै जुनिचाँदे गाउँपालिकाको वडा नम्बर ५ बाहेका १० वडा, बारेकोट गाउँपालिका ८ र ९ बाहेका ७ वडामा पनि विद्युतीकरण भएको छैन ।
कालीकोटको पचालझरना गाउँपालिका २, महाबै गाउँपालिका ५, जुम्ला कनकासुन्दरी गाउँपालिका १, २, ४ र ८, सिन्जा गाउँपालिका १, २, ४ र ६, हिमा गाउँपालिका ३ र ६, तीला गाउँपालिका ६, ८ र ९, गुठीचौर गाउँपालिका १ र २ वडामा विद्युतीकरण भएको छैन ।
डोल्पाका डोल्पोबुद्ध, सेफोक्सुण्डो, जगदुल्ला, मुड्केचुला,काइके र छार्काताङसोङ्ग गाउँपालिकाका ४३ वडा, रुकुम पश्चिमको सानीभेरी १० र ११, दैलेखकाे आठबीस नगरपालिका २, ५ र ९, ठाँटीकाँध ४ हुम्लाको नाम्खा २, ३, ४, ५ र ६, खार्पुनाथ २ र ३, सर्केघाट गाउँपालिकाका ८ वडा, चंखेली गाउँपालिकाका ६ वडा, अदानचुली गाउँपालिकाका ६ वडा र ताजाकोट गाउँपालिकाका ५ वडामा पनि विद्युतीकरण हुन सकेको छैन ।
मुगुको छाँयानाथरारा नगरपालिका ९, १० र ११, मुगु मकार्मारोङ गाउँपालिकाका ९ वटै वडा सोरु गाउँपालिकाका ११ वटै वडा र खत्याड गाउँपालिकाका ११ वटै वडामा विद्युतीकरण हुन सकेको छैन । यी पालिकाहरूमा विद्युतीकरणको अभावमा विद्युतीय माध्यमबाट गर्नुपर्ने कामकाज हुन सकेका छैनन् ।