सुर्खेत, ४ भाद्र । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली मुलुक समृद्धिको मुहान बन्न सक्ने बताएका छन् ।
कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कर्णालीको जल, जमिन, पर्यटन, जडीबुटी, भेषभुषा, भाषा संस्कृतिमा अपार सम्भावना रहेको भन्दै मुलुक समृद्धिको मुहान भएको बताएका हुन् ।
“कर्णाली एउटा सभ्यता हो । यो मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ”, उनले भने, “कर्णाली प्रदेशले निर्धारण गरेको विकास, पूर्वाधार र परिवर्तनको लक्ष्य, कर्णालीको मूल्यवान उत्पादनले मुलुक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने देखाउँछ ।”
प्रदेश सरकारको कृषक प्रोत्साहन कार्यक्रम, ‘कर्णालीले जे बेच्छ, मूल्यवान उपज बेच्छ’ जस्ता नारा र कर्णाली समृद्धि अभियानजस्ता कार्यक्रमबाट आफू उत्साहित भएको उहाँको भनाइ छ । प्रधानमन्त्रीले प्रदेश स्थापनाका लागि लड्दै आफ्नो जीवनको आहुति दिनुहुने अमर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न तथा देखेको सुन्दर, समृद्ध र समतामूलक समाज निर्माणको सपनालाई साकार पार्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेका थिए ।
प्रधानमन्त्री दाहालले कर्णालीका कच्ची र कमजोर सडक पूर्वाधारले दुर्घटनाको जोखिम बढाएको, बेरोजगारी र अभावले हजारौँ युवा मुग्लान पसिरहेको, जाडोयाममा मयल पोसेको पातलो कपडा लगाइ शिक्षा लिन दुई घण्टासम्म नानीबाबु हिँड्ने दृश्य राम्रोसँग बुझेको र महसुस गरेको बताए ।
उपचार नपाउँदा गर्भवतीको अकालमा ज्यान जाने गरेको भयावह स्थिति, कर्णालीको गरिबी, पछ्यौटेपन र भूगोलबारे पनि राम्रोसँग बुझी यही क्षेत्रको आन्दोलनको नेतृत्वसमेत गरेको उनले जिकिर गरेका थिए ।







