झापा, २५ जेठ । भद्रपुरको कलबलगुडी प्रशिक्षण केन्द्रको क्वारिन्टिनबाट बाहिरीन नेपाली सेनाको चारआली स्थित गणका गणपति कर्णेलको आदेश चाहिने भएको छ ।
कलबलगुडी क्वारिन्टिनका तीन जना कोरोना संक्रमितलाई भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले घरघर पुर्याएपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हुने क्राइसिस मेनेजमेन्ट कमिटीले कर्णेलको आदेशमा मात्र बाहिरिने व्यवस्था मिलाएको हो । नेपाली सेनाको गणपति कर्णेल कमिटीका सदस्य छन् ।
भद्रपुर नगरपालिका स्वास्थ्य शाखाको लापरवाहीले नगरप्रमुख श्रेष्ठले जेठ २२ गते क्वारिन्टिनमा बसेका भद्रपुरका दुई जना र कचनकबल गाउँपालिकाका एक जना संक्रमितलाई घर पुर्याएपछि क्राइसिस मेनेजमेन्ट कमिटीले कर्णेलको आदेशमा मात्र छाड्ने व्यवस्था मिलाएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए ।
।
नेपाली सेनाको चारआली ब्यारेक भित्र र कलबलगुडीको क्वारिन्टिन नेपाली सेनाको तेतृत्व र व्यवस्थापनमा संचालन हुँदै आएको छ । जनस्वास्थ्य कार्यालयले क्राइसिस मेनेजमेन्ट कमिटी र सम्बन्धित पालिकाको स्वास्थ्य शाखामा पिसीआर रिपोर्ट दिने गरेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाँईले जनाकारी दिए ।
कलबलगुडी क्वारिन्टिनमा बसेका नौ जनाको समूह मध्ये छ जनाको पिसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । तर, नगरप्रमुख जीवनकुमार श्रेष्ठले सबैको नेगेटिभ आएको भनेपछि क्वारिन्टिनमा रहेको सेनाले बिदा गरेको थियो ।
तर, लगभग दुई घण्टापछि नौ जना मध्ये तीन जनाको कोरोना संक्रमण पोजेटिभ भएको रिपोर्ट आएको थियो । त्यसबेलासम्म सबै संक्रमितलाई नगरप्रमुखले घरघर पुर्याइसकेका थिए । रिपोर्ट पोजेटिभ आएपघि घर पुगेका संक्रमितलाई पुनः क्वारिन्टिनमा ल्याइएको थियो ।