मेचीनगर, १ कार्तिक । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ धाइजनमा अवस्थित रितिका डेरी उद्योग कर्मचारीको दु:खमा सहारा बनेको छ ।
डेरीमा विगत २० वर्षबाट कार्यरत कर्मचारी सुर्यप्रसाद पन्तको अकल्पनिय भएको मृत्युमा मृतआत्माको शान्तिको कामना गर्दै समवेदनासहित डेरी कर्मचारी परिवारबाट संकलित दुई लाख दुई हजार एक सय पाँच बराबरको चेक मंगलबार प्रदान गरिएको छ ।
उक्त चेक रकम डेरीका संस्थापक घनश्याम चिमरिया र कमला चिमरियाले परिवारका सदस्यलाई हस्तान्तरण गरेका थिए ।
मेचीनगर नगरपालिका वडा नं.११ मा स्थायी बसोबास गर्दै आएका पन्तको मृत्यु गत असोज २४ गते ३६ वर्षको उमेरमा भएको हो । उनमा क्यान्सर रोगको समस्या रहेको थियो । उनका श्रीमती र दुई छोरीहरु रहेका छन् ।
त्यस्तै उक्त अवसरमा कम्पनीका म्यानेजर योगेन्द्र चिमरियाले आगामी १० वर्षसम्म परिवारिक खर्च स्वरुप मासिक दस हजार दिने घोषणा गरेका छन् ।
डेरीका सञ्चालक साथै उद्योगमा कार्यरत सम्पुर्ण कर्मचारीको उपस्थिति रहेको थियो भने सुनिल चौहानले मृतक पन्तका बारेमा चर्चा गरेका थिए ।






