Logo

कलाकारले धनराज राम्रो छ भनिदिएकै भरमा चुनाव जितेँ: मन्त्री गुरुङ



काठमाडौँ, ११ असोज । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कलाकारले आफूलाई राम्रो छ भनिदिएकै भरमा चुनाव जितेको दाबी गरेका छन् ।

बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले कलाकारकै कारण आफूले चुनाव जितेर आएको बताए । गीत गाउन नजानेर आफू राजनीतिक व्यक्तिको रूपमा उभिए पनि कलाकारको सद्भाव र माया आफूमाथि धेरै रहेको उनको भनाइ थियो ।

उनले भने, ‘म गाउन जान्दिनँ तर समय पाएँ भने गीत सुनिरहन्छु । मनमनै गुनगुनाउन मन लाग्छ, बाहिर गाउन आउँदैन । नत्र म पनि त्यस्तै कलाकार हुन्थेँ जस्तो लाग्छ । त्यही गाउन नजानेर म आज राजनीतिक यात्रामा उभिएँ । कलाकार साथीको सद्भाव र माया पाएको छु । तपाईँहरूले नै धनराज राम्रो छ भनिदिएपछि मैले चुनाव जितेर आएँ ।’

कार्यक्रममा बोल्दै मन्त्री गुरुङले राजनीतिमा देखिएको विकृति र विसङ्गतिका विरुद्धमा लड्ने प्रतिबद्धता पनि जनाए । उनले भने, ‘नेपाली राजनीतिमा देखिएको विकृति र विसङ्गतिका विरुद्धमा सधैँ लडेर तपाईँहरूको बीचमा निष्ठाको राजनीति गर्ने व्यक्तिको रूपमा उभिएर मर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्