काठमाडौँ, २८ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताएका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजना बबरमहलस्थित नेपाल कला परिषद्मा भइरहेको राष्ट्रिय ललितकला प्रर्दशनीको आज अवलोकनपछि उनले पुरानो कला र संस्कृतिको संरक्षण र त्यसको विकास पनि गर्दै लैजानुपर्ने आवश्यकता औंल्याएका थिए ।
“हाम्रो देश, सभ्यता, कला ,संस्कृति, चाडवाड, सङ्गीतको हिसाबले पुरानो इतिहास भएको देश हो । यी सबै कुरा हाम्रा सम्पदा हुन्”, उनले भने, “कला र संस्कृतिको जति सुरक्षा र सम्मान गर्न सक्दछौँ । त्यति शिक्षा पनि लिन सक्दछौँ ।” अध्यक्ष ओलीले देशको इतिहास र सभ्यता संस्कृति जान्न जरुरी रहेको उल्लेख गर्दै कलाको सिर्जना र प्रर्दशनीले अरुलाई पनि इतिहास बुझ्न सजिलो हुने बताए ।
उनले कलाले पुरानो प्रचलन, चलन, चाडपर्वबारे जानकारी गराउने भएकाले कला पुरानो समाजको अव्यक्त खालको इतिहास रहेको भनाइ राखेका थिए ।





