विकास भन्नाले सामान्यतय सकारात्मक परिवर्तनको अवस्थालाई लिइन्छ । शिक्षाको स्तर बढ्नु, स्वास्थ्य सेवाको पहुँच पुग्नु, सडक सञ्जाल बढ्नु, सञ्चारको विविधिकरण हुनु, विद्युतको सुविधा वढ्नु र नागरिकको आर्थिक सक्षमता वढ्नु जस्ता पक्षहरुले विकासको विविध रुपलाई प्रतिनिधित्व गरी रहेका हुन्छन् । शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात तथा विद्युत जस्ता पक्षहरुलाई विकासका पुर्वाधारको रुपमा लिइँदै आएको छ । अर्को तर्फबाट भौतिक विकास, आर्थिक विकास र मानवीय (सामाजिक) विकासका रुपमा विकासका विविध पक्षहरुलाई लिने गरिन्छ ।
विश्वको विकासको परिदृष्यलाई अवलोकन गर्ने हो भने, शुरुमा भौतिक विकासलाइ जोड दिए ता पनि मानवीय (सामाजिक) विकास त्यसमा पनि शिक्षाको विकासलाई सवै विकासको मुख्य आधारशीलाको रुपमा लिन सकिन्छ । सवै धनहरुमध्ये विद्या धनलाई महत्तम धनका रुपमा लिइने हुनाले नै विद्या धनम् सर्व धनम् प्रधानम् भन्ने उखान पनि चल्तीमा रहेको छ । कुनै पनि व्यक्तिले व्यक्त गर्ने अभिव्यक्तिहरु निजको शिक्षा, सङ्गत तथा पर्यावरणले निर्देशित गर्ने गर्दछ । त्यसैले शिक्षालाई विकासको साथसाथै व्यक्तित्वको समेत आधारशीलाको रुपमा लिने गरिन्छ ।
शिक्षा शब्द ल्याटिन भाषाको educare शब्द बाट आएको हो जसको अर्थ हामीलाई ल्याउनु भन्ने हुन्छ । हो, शिक्षाले हामीलाई समाजमा ल्याउँछ, चिनाउँछ र विकासको अवसर प्रदान गर्दछ । प्रो.हर्मन एच.हर्नका अनुसार ‘शिक्षा समायोजनको बाह्रमासी प्रक्रिया हो’ । हाम्रो जीवनमा शिक्षाको महत्व अपार छ । शिक्षा बिना जीवन सफल हुन सक्दैन । यस आधुनिक संसारमा, सफलता हासिल गर्न सुशिक्षित हुनु अति आवश्यक छ ।
शिक्षा औपचारिक वा अनौपचारिक तवरले प्राप्त गर्न सकिन्छ । औपचारिक शिक्षा विभिन्न स्वरुपका शिक्षालयहरुबाट विभिन्न तह पार गर्दै प्राप्ति हुने गर्दछ भने अनौपचारिक शिक्षा घर, परिवार, साथी, सङ्गी, समूह, प्रकृति तथा स्वअध्ययनबाट प्राप्त हुने गर्दछ । आजको युगमा शिक्षा बिना सफलताको कल्पना गर्न सकिदैन । राष्ट्रको सामाजिक-आर्थिक विकासका लागि शिक्षा महत्वपूर्ण हुन्छ नै साथै मानवीय विकासको मूल आधार शिक्षा नै हो भन्न सकिन्छ ।
सिकेर, पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैद्धान्तिक तथा व्यवहारिक विषयको बुझाई वा ज्ञान शिक्षा हो । हाम्रो लागि शिक्षा प्राप्त गर्नु खाना, लुगा र आश्रय पाउनु जत्तिकै अति आवश्यक छ । त्यसले गर्दा नै गाँस, वास, कपास झैँ शिक्षा, स्वास्थ्य पनि आधारभूत अधिकारको सूचिमा राखिएको पाइन्छ ।
अर्को तर्फ शिक्षा एउटा यस्तो धन हो, जसलाई न कसैले चोर्न सक्दछ न कसैले खोस्न सक्दछ । यो मात्र यस्तो धन हो जून बाडदा कहिलै कम हुदैन र सकिदैन बरु बढदै जान्छ । तपाईं हामीले देखि रहेका छौ कि जून शिक्षित व्यक्तिहरु हुनुहुन्छ उहाँहरुको समाजमा मान सम्मान र विशेष स्थान रहेको हुन्छ । हामीहरुलाई यो स्मरण हुनु आवश्यक छ कि शिक्षा हाम्रो जीवनको अभिन्न अंग हो । शिक्षाले तपाईं हामीलाई समाजमा अलग किसिमको मान सम्मान दिनुको साथै समाजमा सिर उठाई जीउन सिकाउँने भएकोले असल शिक्षा लिन आवश्यक छ।
शिक्षा मानव विकास र राष्ट्र विकासको आधार भएको हुनाले नै राज्य, सरकार, समाज, परिवार तथा संस्थागत लगानी भै रहेको हुन्छ । देश अनुसार शिक्षाका औपचारिक उद्देश्य फरक-फरक देखिए ता पनि मुलभूत रुपमा कर्तव्यनिष्ठ, सक्षम तथा निपुण नागरिक विकास गर्नु नै शिक्षको मुलभूत उद्देश्य हो भनी भन्न सकिन्छ ।
नेपालको सन्दर्भमा शिक्षाका राष्ट्रिय उद्देश्यहरु निम्नानुसार रहेका छन्:
१. प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा र व्यक्तित्व विकासका सम्भावनालाई प्रस्फुटित गर्न सहयोग गर्ने,
२. प्रत्येक व्यक्तिमा निहित सार्वभौम मानवीय मूल्यका साथै राष्ट्रिय संस्कृति र अस्मिता, सामाजिक मान्यता र आस्थाहरूको संवर्धन गरी जीवन्त अनुभवहरू समेट्दै स्वस्थ सामाजिक तथा सामूहिक जीवन पद्धतिको विकास गर्न चरित्रवान् एवम् नैतिकवान नागरिक तयार गर्ने,
३. स्थानीय र राष्ट्रिय स्तरका पेसा, व्यवसाय एवम् रोजगारीका साथै आवश्यकतानुसार अन्तर्राष्ट्रिय रोजगारीतर्फ उन्मुख उत्पादनमुखी र सिपयुक्त नागरिक तयार गर्न सहयोग गर्ने,
४. व्यक्तिको सामाजिकीकरणमा सहयोग गर्दै सामाजिक एकतालाई सुदृढ बनाउने,
५. समाजको आधुनिकीकरणमा सहयोग गरी देश निर्माणका निम्ति मानव संसाधनको विकास गर्ने,
६. प्राकृतिक वातावरण र राष्ट्रिय सम्पदाको संरक्षण र सदुपयोग गर्न सहयोग गर्ने,
७. सामाजिक समानता र न्यायबारे चिन्तन गर्दै तदनुरूपको आचरण विकास गर्ने र समावेशी समाज निर्माणमा मद्दत गर्ने,
८. स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशअनुकूल शान्ति, मैत्री, सद्भाव, सहिष्णुता र विश्व बन्धुत्वको भावनाको विकास गरी तदनुरूपको आचरण गर्ने गराउने र हरेक प्रकारका द्वन्द्व व्यवस्थापनका लागि सक्षम नागरिक तयार गर्ने,
९. आधुनिक सूचना प्रविधिसँग परिचित भई त्यसको प्रयोग गर्न सक्ने विश्व परिवेश सुहाउँदो दक्ष जनशक्ति तयार गर्ने,
१०. राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मानव अधिकारप्रति सम्मान गर्ने, समालोचनात्मक तथा रचनात्मक सोच भएका स्वाभिमानी तथा अरूलाई सम्मान गर्ने र आफू नेपाली भएकामा गौरव गर्ने नागरिक तयार गर्ने,
११. नेपाली कला, सौन्दर्य, आदर्श तथा वैशिष्ट्यहरूको संरक्षण, संवर्धन र विस्तारतर्फ अभिप्रेरित नागरिक तयार गर्न cगर्ने,
१२. प्राकृतिक एवम् दैवी प्रकोपप्रती सचेत रही सम्भाबित जोखिम न्यूनीकरण गर्न सक्षम नागरिक तयार गर्ने । (राष्ट्रिय पाठ्यक्रमको प्रारुप ०६३, परिमार्जन ०७१)
उल्लेखित उद्देश्य वोकेको साथै राज्यको अरवौँ लगानी गरिएको शिक्षा प्राप्त गर्ने विद्यार्थीहरुले नै ठीक र वेठिक छुट्याउँन नसक्नु, विवेक गुमाएर आवेग र सम्वेगको पछाडि लाग्नु, मुल्यहीन कृयाकलापको पछाडि लाग्नु, अर्थहीन भीडलाई पछ्याउँनु, समाजमा भ्रम निवारण गर्नुको सट्टा भ्रम फैलाउँन उद्यत हुनु अनि मानवीय सम्वेदना र मूल्य बुझ्न नसक्ने हुनु हाम्रो घर, परिवार, साथी, सङ्गी, समूह, प्रकृतिको दोष हो कि हाम्रो शिक्षा प्रणाली तथा यसका सञ्चालकहरुको पनि हो । अनि एउटा सवाल उठ्छ, हाम्रो शिक्षा कसको शिक्षा र कस्तो शिक्षाका रुपमा दिइँदैछ । गम्भीर समीक्षा, खोज, बुझाइ र सुधारको खाँचो देखिन्छ । (लेखक रिजाल लेटाङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रहेका छन् )।