Logo

कसरी भयो नेपालमा इस्लाम महासभ्यताको बिकास ?



संसारमा विकसित मानव महासभ्यताहरूमध्ये इस्लाम सबैभन्दा कान्छो अर्थात् १५०० वर्षको इतिहास बोकेको सभ्यता हो । इस्लाम महासभ्यतामा पछि विकसित गरिएको कठोर सरियत कानुनका नजरबाट मात्र हे¥यो भने यस सभ्यतालाई सही ढङ्गले बुझ्न सकिन्न । ती कानुनहरू त इस्लाम सभ्यताभित्रको शोषक वर्गले आफ्नो वर्गीय शासनलाई दीर्घजीवी बनाउन जनतामाथि लादेका राजनैतिक हतियारहरू मात्र हुन् ।

इस्लाम सभ्यतालाई ती सरियतलगायतका पछि बनाइएका कानुनहरूलाई पन्छाएर हेर्नु, बुझ्नु आवश्यक छ । यो सभ्यता निश्चित जाति वा प्रजातिले विकसित गरेको सभ्यता नभई यो निश्चित विचार र सोचका आधारमा विभिन्न प्रजातिले एकताबद्ध भई सुरू हुन पुगेको सभ्यता हो ।

आजको अरब क्षेत्रमा एक आपसमा लडिरहेका सयौँ फरक कविला वस्तीहरूलाई हजरत मोहम्मदले एकताबद्ध बनाउने क्रमसँगै यो सभ्यता सुरू भएको हो । फरक–फरक कविलामा फरक–फरक सयौँ ईश्वरका मान्यतालाई एकताबद्ध गरी एउटै ‘अल्लाह’ अथवा ईश्वर निर्माण गरी भाइचारा सुरू गरिएको मानिन्छ ।

त्यसैले पनि इस्लाम आध्यात्मिक मतमा कुनै एक ईश्वरको मूर्ति वा तस्बिर हुँदैन । बरू आध्यात्मिक वचन मात्र लेखिन्छ, किनकि सयौँ ईश्वरीय मान्यतालाई एउटैमा रूपान्तरण गर्दा कुनै एकको मूर्ति वा तस्बिरलाई मात्र प्रतीक बनाउन सम्भव नै थिएन ।

इस्लामलाई सामान्य एउटा धार्मिक पथका रूपमा मात्रै बुझ्ने चलन छ । यो एउटा धार्मिक पथ त हुँदै हो, तर त्यति मात्र होइन बरू यो एउटा अलग समग्र जीवन आचरण, पद्धति र समाजकै विशिष्ट ढाँचा पनि हो ।

यो इस्लाम महासभ्यता छोटोमा भन्दा भारतमा मुस्लिम शासन–कालसम्ममा आइपुगिसकेको थियो । नेपालमा कहिले र कसरी आइपुग्यो ? यसका पनि दुई सन्दर्भ भेटिन्छन् । नेपालको तराई खण्डमा रहेका मुस्लिमहरू क्रमशः भारतीय भूमिबाट अन्य समुदाय जस्तै सर्दै आइपुगेको देखिन्छ ।

जङ्गबहादुरद्वारा जारी मुलुकी ऐन वि.सं. १९१० मा आफ्नो नेपाली मुसलमानका बारेको व्यवस्था छुट्टै छ । त्यतिबेला तराईका समुदायलाई नेपाली भनिँदैनथ्यो । त्यहाँका मुसलमानबारे बेग्लै दृष्टिकोण राख्न नै ‘आफ्नो नेपाली मुसलमान’ भनी बेग्लै सम्बोधन गरेको प्रस्ट बुझ्न सकिन्छ ।

यसको स्पष्ट अर्थ के हो भने जङ्गबहादुरको शासनकालमै तराईमा इस्लाम सभ्यताका मुस्लिम झुन्डहरू आवाद भइसकेका थिए । वि.सं. १९१० को मुुलुकी ऐनले ‘आफ्ना नेपाली मुसलमान’ भनेर जसलाई भन्यो ती चाहिँ पहाडी क्षेत्रमा रहेका मुसलमान हुन्, जसलाई त्यस ऐनमा ‘चुरेटा’ जात भनी उल्लेख छ ।

चुरेटा जातका रूपमा त्यस मुलुकी ऐनमा उल्लेख गरिएका मुसलमान चाहिँ कास्मिरबाट मल्लकालमा राज्यले नै ल्याएर चुरा, पोते, धागो आदि शृङ्गारिक सामानको उत्पादन र व्यापार तथा अन्य प्राविधिक कामका निम्ति वागमती उपत्यकामा बस्ती बसाइएकाहरू हुन् । काठमाडौँको तत्कालीन केन्द्र इन्द्रचोकको कास्मिरी बजार क्षेत्र र ललितपुरको मङ्गलबजार क्षेत्रमा उनीहरूको बस्ती बसाइएको हो, जुन अद्यावधिक छँदै छ ।

चुरा, धागो आदिको व्यापारका लागि डुल्ने क्रममा लमजुङ, कास्कीदेखि पश्चिमतिरका विभिन्न भागमा बसोबास फैलिन पुगेको हो । नेपाल आइपुगेको इस्लाम सभ्यता आज जनसाङ्ख्यिक दृष्टिले ४ प्रतिशतभन्दा बढी भएको समूह हो ।

यसप्रकार नेपाल भूमि आकारका हिसाबले सानो भएर पनि सभ्यताको कोणबाट विश्वमा विकसित पाँच ओटा महासभ्यताको एकै देशमा आवाद हुन पुगेको विशिष्ट देश हो । यो गौरवपूर्ण विषय आफैमा हो । नेपाली समाजलाई बुझ्न, त्यसका अन्तर्वेदनालाई छाम्न, यी महासभ्यतालाई बुझ्न आवश्यक छ । यति नै काफी छैन, यहाँ केवल सङ्केत र अभिमुखीकरणसम्म गर्ने प्रयास मात्र गरिएको हो । (वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको विचारधारात्मक राजनीतिक कार्यदिशा सम्बन्धी प्रस्ताव-२०७ ५को केही अंश)

प्रतिक्रिया दिनुहोस्