काठमाडौँ, २८ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कसैले माग्दैमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा नदिने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लबले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री ज्वालाले सरकारले अहिले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा निर्ममतापूर्वक काम गरेको भन्दै यस्तो बेलामा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुको कुनै तुक र अर्थ नहुने स्पष्ट पारेका हुन् ।
वर्तमान सत्ता-गठबन्धन संसद्को पूरा अवधिसम्म कायमै रहने उनले बताए । एक क्विन्टल सुन तस्करीबारे सीआईबीले छानबिन गरिरहेको उल्लेख गर्दै उनले अनुसन्धान जरैसम्म पुग्ने र दोषीहरुमाथि कारबाही हुने दाबी गरेका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणदेखि सुन तस्करीसम्मको कुरा गर्दा, सरकारले दोषी नछुट्ने र निर्दोष नफस्ने ढंगले अनुसन्धान गरिरहेको उनको भनाइ छ । यस्तै, ललितानिवास प्रकरणमा माधव नेपाल निर्दोष रहेको मन्त्री ज्वालाको दाबी छ ।
मन्त्री ज्वालले निर्माण व्यवसायीहरुको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण भएको र माग पूरा गर्नतर्फ लागेको स्पष्ट पारे । निर्माण व्यवसायीहरुको भुक्तानीको मागको विषय जायज भएको उनले बताए ।







