Logo

कसैसँग मुकाबिला गर्न मोर्चा निर्माण गरेको होइन: नेपाल



काठमाडौँ, ४ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कसैसँग मुकाबिला गर्नका लागि समाजवादी मोर्चा निर्माण नगरेको बताएका छन् ।

कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाबिला गर्नका लागि मोर्चा बनाउन लागिएको टिप्पणी एमाले अध्यक्ष केपी ओलीले गरेको स्मरण गराउँदै उनले यस्तो भनाइ राखेका हुन् ।

सोमवार काठमाडौँमा आयोजित ‘समाजवादी मोर्चा नेपाल’ घोषणा कार्यक्रममा अध्यक्ष नेपालले प्रतिगमनका विरुद्धमा भने मोर्चाले डटेर सामना गर्ने बताए । मोर्चा कसैलाई तर्साउन र मुकाबिला गर्नका लागि नभएको उनकाे भनाइ थियाे । उनले प्रतिगमनका पक्षमा नभएकाहरू मोर्चासँग डराउन सक्ने जिकिरसमेत गरेका थिए  ।

उनले भने, ‘यो मोर्चा स्वार्थको मोर्चा होइन । यो मोर्चा सिद्धान्तहीन मोर्चा होइन । यो मोर्चा विचारहीन मोर्चा होइन । यसको प्रस्ट उद्देश्य छ । हामी प्रतिगमनका विरुद्धमा र यथास्थितिको विरुद्धमा परिवर्तनका लागि एकताबद्ध हुने सम्पूर्ण देशभक्तहरू र समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाएर लैजान चाहन्छौँ । केही केही नेताहरूलाई याे माेर्चा कसैलाई तर्साउन र कसैको मुकाबिला गर्न बनाइएकाे हाे भन्ने लागेकाे रहेछ । तर याे माेर्चा कसैलाई तर्साउन र कसैको मुकाबिला गर्नका लागि पनि होइन ।’

प्रतिक्रिया दिनुहोस्