Logo

‘नागरिकता विधेयक जबरजस्ती अगाडि बढाइनु लोकतन्त्रको उपहास र निरङ्कुशता’



काठमाडौँ, ६ साउन । नेकपा एमालेका सांसद भीम रावलले नागरिकता विधेयकमाथि भइरहेको दफावार छलफललाई ‘छल’ को संज्ञा दिएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै उनले यस्तो बताएका हुन् ।

नागरिकता विधेयकलाई समितिमा नपठाइ जबरजस्ती अगाडि बढाइनु लोकतन्त्रको उपहास र निरङ्कुशता भएको सांसद रावलले टिप्पणी गरेका छन् ।

उनले भने, ‘छलफल होइन केवल छल हो । नागरिकताजस्तो संवेदनशील विषयमा छल गर्नु निन्दनीय छ । देशको दीर्घकालीन अस्तित्वसँग गाँसिएको नागरिकताजस्तो गम्भीर विषयलाई समितिमा नपठाइ जबरजस्ती अगाडि बढाइनु लोकतन्त्रको उपहास हो । निरङ्कुशता हो । राष्ट्रियताप्रतिको खेलबाड हो । संसारमा कहीँ पनि नागरिकता खुकुलो हुन्न ।’

सांसद रावलले नेपाली नागरिकसँग विवाह गर्ने महिलाले नागरिकता लिन चाहेमा निश्चित अवधि बसोवास गर्नुपर्ने भनी प्रमुख राजनीतिक दलका नेताहरूले गरेको सहमति विपरीत विधेयक अगाडि बढाइएको बताए । उनले राज्य व्यवस्था समितिले निर्णय गरी पेस गरेको सात वर्षको प्रावधानलाई हटाउनु राष्ट्रप्रतिको बेइमानी भएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्