झापा, २८ पुष । पूर्वी नाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा गोलभेँडाको आयात ९३२ प्रतिशतले बढेको छ। भन्सार कार्यालयका अनुसार साउनदेखि मङ्सिरसम्म भारतबाट रु. ६ करोड ८४ लाख ७४ हजार बराबरको गोलभेँडा आयात भएको हो।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा भारतबाट २६ लाख ७६ हजार ५२० किलो गोलभेँडा आयात गरिएको छ। गोलभेँडाको आयातबाट भन्सार राजस्वस्वरूप रु. ८२ लाखभन्दा बढी संकलन भएको उनले जानकारी दिए।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने पूर्वी नाकाबाट मात्र रु. ३७ लाख ३० हजार मूल्य बराबरको एक लाख ३८ हजार ६५० किलो गोलभेँडा आयात भएको थियो। त्यसको तुलनामा चालु आर्थिक वर्षमा भान्सामा प्रयोग हुने तरकारीजन्य गोलभेँडाको आयातमा उल्लेखनीय वृद्धि देखिएको सूचना अधिकारी हुमागाईँले बताए।
उनका अनुसार नेपालमा आयात हुने अधिकांश गोलभेँडा भारतबाट नै आउने गर्दछ।
यसैगरी चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा समग्र तरकारी आयातसमेत वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ। सूचना अधिकारी हुमागाईँका अनुसार चालु आवमा सोही नाकाबाट रु. १ अर्ब १८ करोड ३ लाख ५६ हजार मूल्य बराबरको तरकारी आयात भएको छ। जबकि गत आवको सोही अवधिमा रु. १ अर्ब ११ करोड ३६ लाख २३ हजार मूल्य बराबरको तरकारी आयात भएको थियो।







