Logo

काँकडभिट्टा नाकाबाट नेपाली छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि



झापा, २३ पुष । नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा पूर्वी नाका काँकरभिट्टा हुँदै २ लाख ७५ हजार २४६ केजी छुर्पी निर्यात भएको छ, जसको मूल्य ४८ करोड ५२ लाख ७३ हजार रुपैयाँ बराबर रहेको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा चालु आवमा छुर्पी निर्यात ३२ प्रतिशतले वृद्धि भएको हो। गत आवको साउनदेखि मंसिरसम्म २ लाख १७ हजार ६८ केजी छुर्पी निर्यात भएको थियो, जसको मूल्य ३६ करोड ७६ लाख २३ हजार रुपैयाँ रहेको थियो।

गत आवको तुलनामा चालु आवमा छुर्पी निर्यात मूल्यमा ११ करोड ७६ लाख ५० हजार रुपैयाँले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ।

नेपाली छुर्पी निर्यात हुने मुख्य नाका काँकरभिट्टा नै हो। मेची भन्सार कार्यालयबाट निर्यात हुने प्रमुख १० वस्तुको सूचीमा छुर्पी चौथो स्थानमा रहेको छ।

पहाडी तथा हिमाली जिल्लामा उत्पादन हुने दुग्धजन्य वस्तुबाट तयार गरिने छुर्पीको अधिकांश हिस्सा युरोप र अमेरिका निर्यात हुने गरेको छ। ती मुलुकमा छुर्पी कुकुर र बिरालोको खानाका रूपमा प्रयोग हुने गरेको छ।

नेपाल छुर्पी व्यवसायी संघका महासचिव ऋषि तिम्सिनाले नेपालमा उत्पादन हुने कुल छुर्पीको करिब ८० प्रतिशत हिस्सा कोशी प्रदेशले ओगटेको जानकारी दिए। उनले छुर्पी नेपालबाट निर्यात हुने प्रमुख उत्पादनमध्ये एक भए पनि यसको उत्पादन र व्यवसाय प्रवर्द्धनका लागि सरकारले अपेक्षित ध्यान दिन नसकेको गुनासो व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्