Logo

काँकरभिट्टाबाट डेढ करोड बराबरको सुनसहित भारतीय नागरिक पक्राउ



झापा, ४ जेठ । झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ बराबरको सुन र २० हजार अमेरिकी डलरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

आज साँझ मेचीनगर–६ स्थित भन्सार ढाँटमा सशस्त्र प्रहरी र मेची भन्सार कार्यालयको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल कोलकाताका ३९ वर्षीय परम पाठक रहेका छन् ।

सिटी सफारीमार्फत नेपाल प्रवेश गर्दै गरेका उनलाई शंका लागेर जाँच गर्दा ५७० ग्राम सुन, २० हजार अमेरिकी डलर, ८५ हजार ४१० भारतीय रुपैयाँ तथा विभिन्न कागजात बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद सुनको मूल्य करिब १ करोड ४४ लाख रुपैयाँ रहेको बताइएको छ भने अमेरिकी डलरको नेपाली मूल्य करिब ३० लाख रुपैयाँ बराबर पर्ने जनाइएको छ ।

उनको साथबाट मोबाइल, हार्ड डिस्क, सिम कार्ड, भिसा कार्ड, चेक, आधार कार्ड र सवारी चालक अनुमतिपत्रसमेत फेला परेको छ ।

पक्राउ परेका व्यक्तिलाई बरामद सामानसहित थप कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा मा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्