झापा, २० वैशाख । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडभन्दा बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ।
मेची भन्सार कार्यालयका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, हवाई इन्धन (एटीएफ) तथा कोइलालगायत वस्तु भित्रिएका छन्। उक्त आयातबाट करिब ७ अर्ब ४४ करोडभन्दा बढी राजश्व संकलन भएको सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिएका छन्।
तथ्यांकअनुसार नौ महिनाको अवधिमा ७ अर्ब ७५ करोडभन्दा बढी मूल्य बराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल आयात भएको छ। यस्तै, ५ अर्ब ८७ करोडभन्दा बढी मूल्यको ५५ हजार २४ किलोलिटर डिजेल भित्रिएको छ।
त्यसैगरी, १ अर्ब ९० करोडभन्दा बढी मूल्यको एलपी ग्यास, ५७ करोडभन्दा बढीको एटीएफ तथा ७० करोडभन्दा बढी मूल्यको कोइला आयात भएको कार्यालयले जनाएको छ।
पेट्रोलियम पदार्थको उच्च आयातले राजश्व संकलनमा उल्लेख्य योगदान पुर्याएको देखिएको छ।





