झापा, १५ मंसिर । चालु आर्थिक वर्ष ०८२/८३ का पहिलो चार महिना (साउन–कात्तिक) भित्र पूर्वी नाका काँकरभिट्टाबाट १६ अर्ब रुपैयाँभन्दा बढीको मालवस्तु आयात भएको छ। मेची भन्सार कार्यालयका अनुसार सोही अवधिमा १६ अर्ब २ करोड ५ लाख रुपैयाँ बराबरको सामान भित्रिएको हो।
गत वर्षको तुलनामा आयात १२.१२ प्रतिशतले बढेको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए। तर निर्यात भने उल्टो दिशामा गएको छ। यस अवधिमा जम्मा ८ अर्ब ९६ करोड ७ लाख बराबरको वस्तु बाहिरिएको छ, जुन अघिल्लो वर्षको समान अवधिभन्दा ४.१२ प्रतिशतले कम हो।
भन्सार कार्यालयले चार महिनामा आयात–निर्यात दुवै मिलाएर ५ अर्ब ४६ करोड १ लाख ९८ हजार राजस्व संकलन गरेको छ। राजस्व असुली गत वर्षको तुलनामा १५.६६ प्रतिशत (७३ करोड ९४ लाख ७५ हजार) ले बढेको छ।
निर्यातमा मिश्रित अवस्था
काँकरभिट्टा नाकाबाट बाहिरिने मुख्य १० वस्तुमध्ये केहीले ठूलो वृद्धि देखाएका छन् भने केहीमा तीव्र गिरावट आएको छ।
-
अलैँचीको निर्यात दोब्बरभन्दा बढी– ३ अर्ब ९७ करोड ४३ लाखभन्दा बढी, १०९% वृद्धि।
-
मुसुरो दालमा अभूतपूर्व ४८१% वृद्धि– ९ करोड १२ लाखभन्दा बढी।
-
काउली, बन्दाकोभी, ब्रोकाउली– ३६% वृद्धि।
-
भेनियर सिट– १३५% वृद्धि।
-
कुकुर/बिरालोको खाना– ३३% वृद्धि।
-
अदुवा/सुठो– ३% वृद्धि।
तर, केही प्रमुख वस्तुमा उल्लेखनीय कमी देखिएको छ—
-
चिया निर्यात ३७% गिरावट– १ अर्ब ३७ करोड ३० लाख।
-
प्लाइउडको निर्यात आधाभन्दा झनै कम– ५२.७% गिरावट।
-
अम्रिसो– २३.९% कमी।
-
फलामे पाता– ९७% गिरावट, केवल ३ करोड ७८ लाखको निर्यात मात्र।
कुल निर्यात स्तर घटे पनि केही बाली र कच्चा पदार्थको निर्यात बढ्नु पूर्वी नाकामा सम्भावित व्यापारिक संरचना परिवर्तनको संकेतको रूपमा देखिएको कार्यालयको विश्लेषणमा उल्लेख छ।





