Logo

काँग्रेसको शक्ति प्रदर्शनः सरकार र राजावादीलाई झड्का



काठमाडौँ, २९ मंसिर । नेपली काँग्रेसले आज देशभर शक्तिप्रदर्शन गरेको छ । नेकपा भित्रको अन्तरकलह र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्न नसकेको र भ्रष्ट्रचारको संरक्षण गरेको आरोप लगाउँदै गरेको सडक प्रदर्शनमा काँग्रेसका कार्यकर्ताको उत्साजनक सहभागिता रहेको छ ।

संसदमा प्रतिपक्ष काँग्रेसका सांसद भन्दा सत्तापक्षका सांसदहरु सरकार बिरुद्ध बढी आक्रमक गरेको थियो । संसदमा काँग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको आरोप लागिरहेका बेला काँग्रेसले सडक प्रदर्शन गरेर आफ्नो सामथ्र्य देखाएको छ ।

सरकारले गरेका कतिपय नियुक्तिमा नेकपाकै नेताबाट आलोचना गरेपनि काँग्रेसका नेता मौन बस्दै आएका थिए । बरु काँग्रेस सभापति शेरबहादुर देउवा संवैधानिक लगायतका नियुक्तिमा प्रधानमन्त्री ओलीसँगको चास्निमा भुलिने गरेको टिप्पणी र आलोचना हुँदै आएको छ ।

सदन काँग्रेसले प्रतिपक्षको भूमिका त खेल्न सकेन नै सदन बाहिर पनि सक्रियता देखाउन सकेन भन्ने आरोप लाग्ने गरेको छ । सदन र सडक प्रतिपक्षविहीन भएको आरोप लागि रहेका बेला काँग्रेसले सडकमा शक्ति प्रदर्शन गरेको छ । प्रदर्शनले सरकार र राजावादीलाई चेतावनी र दबाबमा मात्र दिएको छैन, काँग्रेस एक शक्ति हो भन्ने प्रमाणित गरेको छ ।

शक्ति प्रदर्शनले उठ्ला त काँग्रेस ?
तत्कालीन एमाले र माओवादी पार्टी निर्वाचनमा तालमेल तालमेल र निर्वाचनपछि भएको पार्टी एकताले हराएको काँग्रेसको सातो अहिलेसम्म फर्किन सकेको थिएन । तर, आज भएको प्रदर्शनले मूर्छित काँग्रेस थोरै भएपनि बौरिनी सम्भावना देखिएको छ । काँग्रेसले तयारीका साथ गरेको देशव्यापी प्रदर्शनले कार्यकर्ता आन्दोलनमा केन्द्रित भएका छन् । कार्यकर्तामा नयाँ खाले उत्साह पलाएको छ ।

नागरिक तहबाट तीब्र आलोचना खेपेको काँग्रेसका कार्यकर्ताका लागि प्रदर्शन संजीवनी सावित भएको छ । ओली सरकारको विपक्षमा रहेको जनमतको ध्यान आफूतिर खिच्न सक्ने सम्भावना बढेको छ । प्रदर्शनले काँग्रेसका कार्यकर्तालाई पुर्नसंगठित गर्न र सरकार बिरुद्ध केन्द्रित हुने आधार तयार गरेको छ ।

जसले दुई वर्षपछि हुने निर्वाचनका लागि काँग्रेसले आफुलाई तयारी गर्न सक्छ । बिगतमा काँग्रेसका गलत कार्य र नालायकीपनलाई नागरिकले बिर्सन सक्छन् । र, नेपाली काँग्रेसका कार्यकर्तामा ताजापन आएको प्रदर्शनमा सहभागी कार्यकर्ताको बुझाई छ ।

प्रधानमन्त्रीमाथि राजनीतिक दबाब
नेकपा भित्र प्रधानमन्त्री ओली र प्रचण्ड माधव समूहबीच चर्को अन्तरसंघर्ष चलेको छ । ओलीलाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एकपद छाड्न दबाब भएका बेला काँग्रेसका शक्ति प्रदर्शनले राजनीतिमा नयाँ कोर्ष अघि बढ्न सक्छ ।

आफ्नै पार्टीका नेताले राजीनामा माग्दा प्रधानमन्त्री ओलीलाई पदलोलुप र गुटबन्दी गरेको आरोप लगाएर उम्किन सजिलो थियो । तर, काँग्रेसले सरकार बिरुद्ध आन्दोलन उठान गरेमा प्रधानमन्त्री ओलीलाई पद त्यागका लागि थप दबाब सिर्जना हुनसक्छ ।

काँग्रेसको प्रदर्शन र पार्टी भित्रको दबाबले ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने अवस्था आउन सक्दछ । पदत्याग नगरे ओली राजनीतिक रुपमा कमजोर र निरीह सावित हुनेछन् । उनको निरीहपनबाट राज्य संयन्त्र प्रभावित हुनसक्छ ।

राजावादीलाई चेतावनी
काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नालायकीपनले राजावादीहरुले सडकमा प्रदर्शन गरेको बताएका छन् । सोमबार हेटौंडामा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले सरकारकै कारण सडकमा राजा आउ देश बचाउको नारा लागेको आरोप लगाए ।

प्रधानमन्त्री ओली राजवादीसँग मिलेको हुनसक्ने भन्दै शंका व्यक्त गरे । राजावादीप्रति आक्रामक देखिएका देउवाले राजा कुनै हालतमा अउन नसक्ने ठोकुवा गरे । राजावदीको बितण्डा सरकारका कारण भएको बताए ।

काँग्रेस सभापति देउवाले राजावादीको आलोचना गरेर काँग्रेस इतरका गणतन्त्रवादीको ध्यानाकर्षण गराएका छन् । एक सिटे राप्रपाले कब्जा गरेको सडक काँग्रेसले खोस्नु गणतन्त्रवादीका लागि सुखःद कुरा हो ।

काँग्रेसको प्रदर्शनले सरकार बिरुद्ध मात्र होइन, राजावादी बिरुद्ध पनि केन्द्रित छ । आजको प्रदर्शनबाट काँग्रेसले धेरैको ध्यान आफूतिर खिचेको छ । काँग्रेसको प्रदर्शन र बिरोध बढ्दै गए राजनीतिले नयाँ आकार ग्रहण गर्न सक्तछ ।

सरकार बिरुद्ध राजावादीले सडक कब्जा गर्ने अवस्था आएको थियो । तर, गणतन्त्रको पक्षमा उभिएको काँग्रेसको प्रदर्शनले सडक गणतन्त्रवादीको पक्षमा आउने आशा सञ्चार गरेको छ ।

काँग्रेसको आन्दोलनले राजावादीले कब्जा गरेको सडक लोकतन्त्रवादीको पक्षमा गएको छ । सडकमा प्रतिपक्ष पार्टी सक्रिय भए राप्रपा जस्ता दक्षिणपन्थी पार्टीले प्रभाव जमाउन नसक्ने अवस्था हुन्छ । काँग्रेसको सक्रियताले ओली सरकार संकटमा पर्न सक्ने सभ्वावना हुन्छ ।

प्रतिक्रिया दिनुहोस्