Logo

काँग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली तेस्रो पटक प्रधानमन्त्री बन्नुहुँदै



काठमाडौं, २८ असार । एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक मुलुकको प्रधानमन्त्री बन्न लाग्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि शुक्रबार आव्हान गर्नु भएपछि अध्यक्ष ओली काँग्रेसको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री हुन लाग्नुभएको हो । राष्ट्रपति पौडेलले ३० गते आइतबार साँझ ५ बजेसम्मका लागि आफ्नो दावी पेश गर्न दलका नेताहरुका लागि समय निर्धारण गर्नुभएको छ ।

सो आव्हानअनुसार कांग्रेस र एमालेका नेताहरु शुक्रबार साँझ बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेश गर्नुभएको छ । राष्ट्रपतिको सचिवालयका अनुसार आइतबार मुलुकले नयाँ प्रधानमन्त्री पाउने र सोही दिन शपथ हुने सम्भावना छ । भोलि शनिबार परेका कारण पनि आइतबार सो समय तय हुने सचिवालयका सदस्यहरुको भनाइ छ । शुक्रबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता तथा सांसदहरु हस्ताक्षरसहित दावी पेश गर्न शितल निवास पुग्नुभएको थियो ।

संविधानको धारा ७६ (२)मा भनिएको छ, “उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।”

यसअघि नेता ओली पहिलो पटक २०७२ असोज २४ गते देशको प्रधानमन्त्री हुनुभएको थियो । त्यसैगरी दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री हुनुभयो । अब तेस्रो पटक २०८१ असार ३० गतेभित्र प्रधानमन्त्रीको जिम्मेवारीमा आउँदै हुनुहुन्छ ।

असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल हुनुभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरुभएको हो । काँग्रेस–एमाले गठबन्धनलाई साना दलहरु जसपा, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी लगायतले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

नयाँ बन्ने ओली नेतृत्वको सरकार काँग्रेसको ८८, एमालेको ७७, जसपा ७, जसपा नेपाल ५, जनमत पार्टी ६, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ४ र केही स्वतन्त्रसहित गरी दुई तिहाई बढी सांसदहरुको समर्थनमा बन्नेभएको छ । राप्रपाले सरकारलाई गठबन्धनलाई समर्थन गरे पनि सरकारमा जाने ठोस निर्णय भने गरिसकेको छैन ।

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधनका लागि भएको प्रमुख दुई दलविचको सहकार्यको मुलुकले स्वागत गरेको बताउनुभयो । संविधान संशोधनको विषय मुलुकका लागि प्रगतिशील विषय भएकाले यसबाट मुलुक र जनता लाभान्वित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

नेकपा (एमाले)का नेता तथा सांसद योगेश भट्टराईले दुई दलविचको सहकार्यमा बन्न लागेको नयाँ सरकारले देशको आर्थिक समस्या समाधानसँगै राजनीतिक अस्थिरताको पनि अन्त्य गर्ने बताउनुभयो । प्रमुख दुई दलविचको मिलन विशेष परिस्थितिमा मात्र हुनेभएकाले नयाँ सरकारले देश र जनताको पक्षमा केन्द्रित भएर काम गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

अध्यक्ष ओली दुई तिहाई संसदको समर्थनमा प्रधानमन्त्री बन्दै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्