काठमाडौँ, २४ फागुन । अप्रत्यासित रुपमा सत्ता बाहिर पुगेको नेपाली काँग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् ।
काँग्रेस संसदीय दलको बैठक बस्दैप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन बनाएपछि प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको काँग्रेसले प्रतिपक्षको रणनीति बनाउन बैठक बोलाएको हो ।
बिहीबार सङ्घीय संसद्का दुवै सदनको बैठक बोलाइएको छ । संसद्को बैठकअघि कांग्रेसले अब प्रमुख प्रतिपक्षीको भूमिकामा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन बैठक बोलाएको हो ।
बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको रणनीतिका विषयमा छलफल र निर्देशन हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
उनका अनुसार बिहान साढे ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्नेछ भने ९ बजे संसदीय दलको बैठक बोलाइएको छ ।





