Logo

कांग्रेसकाे नेतृत्व उपसभापति र महामन्त्रीहरूले लिनुपर्छ: भण्डारी



काठमाडौँ, ९ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्रकान्त भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरू सामूहिक रूपमा अगाडि बढ्नुपर्ने बताएका छन् ।

मङ्गलवार काठमाडौँमा आयोजित ‘वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठी’ मा सदस्य भण्डारीले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायतका नेताहरू सामूहिक रूपमा अगाडि बढाउनुपर्ने बताएका हुन् ।

उनले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरूले लिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘तपाईँहरू उपसभापति बन्नुभयो, महामन्त्री बन्नुभयो । अहिलेसम्म तपाईँहरू सँगै बसेर पार्टी सभापतिसँग यो गर्नुपर्छ भन्नुभएको छ कि छैन? हामीले यो टिम बनाउँदा चाहे शेरबहादुरजी होस्, चाहे रामचन्द्रजी होस्, चाहे कृष्ण सिटौला होस्, चाहे शेखर कोइराला होस्, हामी सबै सँगै बसेर यो टिमले कति राम्रो काम गरेको थियो । आज भाषण गर्ने, बोल्ने, कुरा गर्ने तर सँगै बसेर संयुक्तरूपले झगडा नगर्दा यो भनाइ खाइरहनुपरेको छ । त्यस कारण म सुझाव दिन चाहन्छु तपाईँहरूले टिम बनाउनुस् । समयले तपाईँ युवाहरूको स्वागत गर्नका लागि पर्खिरहेको छ ।पार्टी सभापति शेरबहादुरजी ८० वर्ष पुग्न थाल्नुभएको छ । जोस-जाँगर भएका उपसभापति र महामन्त्री हुनुहुन्छ, अब उहाँहरूले नेतृत्व लिनुपर्‍यो । तपाईँहरू अबदेखि सँगै हिँड्नुस् । मिटिङ राख्नुस् । एजेन्डा तयार गर्नुस् । तबमात्रै कांग्रेस बन्छ । एक्लै कहीँ पुग्न सकिदैँन ।’

प्रतिक्रिया दिनुहोस्