काठमाडौँ, ५ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका कोही पनि नेता तालमेलको पक्षमा नरहेको बताएका छन् ।
महामन्त्री थापाले पार्टीको काठमाडौं क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनमा हारजित स्वाभाविक भएको भन्दै कार्यकर्तालाई सोही मानसिकताका साथ अघि बढ्न निर्देशन दिएका छन् ।
निर्वाचनमा हारे हारौंला हारजित हुन्छ तपाईंहरू त्यहीअनुसार अघि बढ्नुस’, थापाले कार्यकर्तालाई निर्देशन दिए । आफू विभिन्न जिल्लाका नेता–कार्यकर्तासँग सम्पर्कमा रहेको थापाले सुनाए । ‘ ५० भन्दा बढी जिल्लाका साथी तालमेलको पक्षमा छैनन् । मतदातादेखि नेतासम्म विरोधमा छन् । विचार प्रमुख भन्ने कुरामा उनीहरू अडिग छन् । जबरजस्ती लाद्ने हो भने सोचेभन्दा मतदाताले फरक व्यवहार गर्नसक्छन् भन्ने उनीहरूको भनाइ छ’, उनले भने ।
उनले उम्मेदवार र चुनावी अभियानका लागि कार्ययोजनासहित अघि बढ्न पनि जोड दिए । केन्द्रको घोषणा पत्र नकुर्न भन्दै थापाले भने, ‘विस्तृत कार्ययोजनासहित कार्यतालिका बनाएर अघि बढ्नुस् । सक्नुहुन्छ उम्मेदवार टुंगो गरिहाल्नुस् ।’ उनले आफ्नो क्षेत्रमा थपिएका नयाँ मतदाता पहिचान गरेर उनीहरू केन्द्रित अभियान थाल्न पनि निर्देशन दिएका छन् ।
‘निर्वाचन पछाडि आफ्नो बहुमत नपुग्दा कसैसँग मिलेर सरकार बनाउने भन्ने संसदीय व्यवस्था अनुसार स्वाभाविक हुन्छ, तर निर्वाचनभन्दा पहिले नै तालमेल गरेर चुनावमा जित्नको लागि जाने भन्ने कुरा हाम्रो लागि स्वाभाविक कुरा होइन,’ थापाले भने ।
उनले कांग्रेसको चुनाव चिह्नबाट चुनाव लडेर जितेका जनप्रतिनिधिहरुले स्थानीय तहमा एक रुपैयाँ पनि अपचलन गर्दैनौं भनेर प्रतिबद्धता जनाउनुपर्ने उनले बताए ।