काठमाडौँ, १४ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजवादी मोर्चालाई दुई वर्ष सरकारको नेतृत्व गर्न दिएर बाँकी कार्यकाल कांग्रेस एक्लैले सरकार चलाउने प्रस्ताव अघि सारेका छन् ।
आइतवार काठमाडौँमा आयोजित १४ औँ महाधिवेशनको म्यान्डेट र पार्टी रूपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा महामन्त्री थापाले यस्तो प्रस्ताव अघि सारेका हुन् ।
उनले समाजवादी मोर्चाले पार्टी एकता गर्नेसम्मको विषय अघि सारेको र सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डपछि माधवकुमार नेपालले गर्ने सहमति भएको भन्दै दुई वर्षपछि कांग्रेस एक्लैले सरकार चलाउने गरी अहिलेको मन्त्रिपरिषदबाट कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाएर सरकारको समर्थन गर्नुपर्ने बताए ।
उनले भने, ‘यो दुई/अढाई वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा छ । पहिला प्रचण्ड प्रधानमन्त्री बन्ने, त्यसपछि माधव नेपाल बन्ने भन्ने छ । उहाँहरूको एउटै समाजवादी मोर्चा छ, पार्टीलाई पनि एउटै बनाउने भन्ने छ । पार्टीका मन्त्रीहरू फिर्ता बोलाऔँ, यो दुई/अढाई वर्ष उहाँहरूलाई एक्लै चलाउन दिऔँ । हामी समर्थन गरौँ । त्यसपछिको दुई/अढाई वर्ष कांग्रेसले चलाउनुपर्छ । एक्लै चलाउनुपर्छ, त्यसमा जस भए पनि र अपजस भए पनि त्यो बेला कांग्रेसले जिम्मा लिन्छ ।’







