विराटनगर , २२ भदौ । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसमा सबैभन्दा धेरै विवाद रहेको बताएका छन् । कांग्रेसको आन्तरिक किचलोका कारण सिट बाँडफाँटसम्बन्धी काममा धेरै समय लागेको उनको भनाइ छ ।
बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा खतिवडाले भने, “आन्तरिक रूपमा हेर्दा कांग्रेसभित्रै बढी किचलो देखिन्छ । ब्लक ब्लकमा सौदाबाजी छ ।”
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले प्रत्यक्षतर्फ गठबन्धनभित्र १०० सिट दाबी गरेको उनले बताए । कांग्रेसको गुट समस्याका कारण त्यसलाई मिलाउन सकस परेको उनले जिकिर गरे । “कांग्रेस आफू मिल्न सकेको छैन, बरु हामीले मिलाइदिनुपरेको छ,” उनले भने ।
गठबन्धन गर्दा एकीकृत समाजवादीले देशभर २४ सिट नछाड्ने उनले उल्लेख गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सुरक्षागार्डलाई गरेको व्यवहारको विषयमा पार्टीको धारणा के हो भनी सोधिएको प्रश्नमा उनले ‘त्यो सानो दुर्घटना भएको’ बताए ।







