काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो। बैठकमा पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकामा छलफल हुने बताइएको छ ।
कार्यबाहक सभापति पूर्ण बहादुर खड्काले नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षधरलाई सहमतिमा ल्याउन पटकपटक छलफल गर्दा निष्कर्ष ननिस्किएपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेका थिए । सभापति देउवा आमनिर्वाचनअघि नै पार्टीको महाधिवेशनका पक्षमा देखिएका छन् ।
कांग्रेसले असोज अन्तिम सातादेखि लगातार बैठक गरे पनि महाधिवेशनबारे टुंगोमा पुग्न सकेको थिएन । कांग्रेसमा विशेष महाधिवेशनको माग फिर्ता भए कार्यतालिका स्वीकार्न सकिने मध्यमागी प्रस्तावसँगै सभापति देउवाले पनि निर्वाचनअघि महाधिवेशनका लागि सकारात्मक बनेपछि आजको बैठकमा अर्को कार्यतालिकामा सहमति हुनसक्ने देखिएको छ ।
यसका लागि सभापति देउवाले कार्यबाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकलाई पुस मसान्तभित्र महाधिवेशन गर्ने गरी सोमबारको बैठकमा कार्यतालिका प्रस्तुत गर्न आइतबार बिहानै निर्देशन दिएका छन् ।
विशेष महाधिवेशनको माग गरिरहेका महामन्त्री गगन थापा पनि सभापति, कार्यबाहक सभापतिसहितका सबै नेता इमानदारीपूर्वक लागे पुसभित्र महाधिवेशन गर्न सकिने पक्षमा सहमत छन् ।
असोज २९ गते विशेष महाधिवेशनको निवेदन दर्ता भएकाले पुस २८ गतेभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ । पुस २७ गतेदेखि महाधिवेशन गर्नसकिने तालिकाबारे कांग्रेसमा गृहकार्य भइरहेको र आजको बैठकमा प्रस्ताव हुनसक्ने एक नेताले बताए ।





