काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा या आम निर्वाचनपछि गर्नु उपयुक्त हुने बताउनु भएको छ । मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आम निर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताउनुभयो।
उहाँले विसं २०८४ मा हुने आम निर्वाचन त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने र होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुने बतानुभयो । निर्धारित समयमा अधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जाने भन्दै उहाँले आम निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा पर्ने बताउनुभयो ।
महाधिवेशनका लागि आफ्नो स्पष्ट खाका रहेको बताउँदै उहाँले पार्टीलाई एक ढिक्का बनाउने, पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्नुपर्ने, भ्रातृ संस्थाहरुलाई दुरुस्त राख्ने र कसैलाई काखापाखा नगर्ने नेतृत्व आवश्यक रहेको बताउनुभयो ।