मोरङ, ८ मङ्सिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसबाट विजयी स्थानीय तहका जनप्रतिनिधिले जनतासँगको सम्बन्धलाई बलियो बनाउनुपर्ने बताएका छन् ।
नेपाल डेमोक्रेटिक लयर्स एसोसियशन मोरङद्वारा आज आयोजित प्रदेशस्तरीय स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले स्थानीय निकायका कांग्रेसका तीन सय ३२ प्रमुखले सङ्गठित रुपमा जनताको कार्य गरी पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् ।
महामन्त्री शर्माले लोकतान्त्रिक प्रणालीप्रतिको जनताको विश्वासलाई घनीभूत बनाउन जनप्रतिनिधिहरुको ठूलो भूमिका रहेको चर्चा गरे । उनले स्थानीय निकायले प्राप्त अधिकारलाई सतर्कताका साथ नागरिकको हितका लागि प्रयोग गर्न आग्रह गरेका थिए ।
महामन्त्री शर्माले लोकतान्त्रिक शासन व्यवस्थामा सडकमा प्रदर्शन गर्न पाउनु नै सबैभन्दा सुन्दर पक्ष भएको चर्चा गरेका हुन् । उनले अहिले सबैको ध्यान मुख्य रुपमा भूकम्पबाट पीडितका लागि अस्थायी टहरा निर्माण एवं न्यानो कपडा व्यवस्थाका लागि केन्द्रित हुनुपर्ने बताए ।







