Logo

कांग्रेसबिनाको सरकार कल्पना गर्न सकिँदैन: अध्यक्ष नेपाल



जनकपुरधाम, १७ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले वर्तमान गठबन्धनले सहमतिका आधारमा आफ्नो कार्यभार पूरा गर्ने स्पष्ट पारेका हुन् ।

“वर्तमान सरकारले राम्रा काम गर्न खोजे पनि पर्याप्त भएन । त्यसैकारण सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्न सबैले इमान्दार प्रयत्न गर्न जरुरी छ,” उनले भने, “त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ ।”

फरक प्रसङ्गमा अध्यक्ष नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल गरेका छन् ।

उनले अशान्ति मच्चाउने मनसायले देशका विभिन्न भू-भागमा सामाजिक सद्भाव प्रतिकूलका क्रियाकलाप भइरहेकाप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संविधानविरोधी काममा नलाग्न सबैलाई आग्रह गरेका थिए ।

“अहिले सामाजिक सद्भाव खल्बल्याउने मनासायले विभिन्न धर्म, सम्प्रदाय र परम्पराका नाममा फाटो ल्याउने काम भइरहेका छन् । धरान, सर्लाहीको मलङ्गवा र नेपालगन्जमा त्यही मनसायका साथ भइरहेका क्रियाकलापले हामीलाई चिन्तित बनाएको छ”, अध्यक्ष नेपालले भने, “यी कदमहरू जुनसुकै नाममा र आवरणमा भए पनि सदियौँदेखि मिलेर बसेको समाज र नेपालको संविधानको मर्मविरुद्धमा छन् । यसले एकता खल्बल्याउने र प्रतिगमनलाई प्रश्रय दिने काम हुन थालेको छ । त्यसैले हामी सबै नेपाली एक हौँ भन्ने भावनाका साथ मिलेर बस्न सबैलाई अपिल गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्