Logo

कांग्रेसमा प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी



काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेसका शीर्ष नेताहरूले आम निर्वाचनको अन्तिम परिणाम आउनुपूर्व नै नयाँ सरकारको नेतृत्वका लागि आआफ्नो पहललाई तीव्र बनाएका छन् । मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने भए पनि कांग्रेसका आधा दर्जन नेताले प्रधानमन्त्री बन्ने आकांक्षासहित विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल थालेका हुन् ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहितका दलसँग चुनावी तालमेल गरेर अहिलेसम्म ५३ निर्वाचन क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको कांग्रेसभित्र प्रधानमन्त्रीका लागि भने आधा दर्जन नेताले आकांक्षा देखाएका हुन् ।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

अहिलेकै गठबन्धनलाई निरन्तरता दिनेगरी सभापति देउवाले छलफललाई अघि बढाएका हुन् । दाहाल र नेपालसँग छलफल गरेका देउवाले अहिलेको गठबन्धनलाई निरन्तरता दिने समझदारी गर्दै अन्य दललाई पनि समेटेर मुलुकको आर्थिक विकास र समृद्धिको पक्षमा अघि बढ्नुपर्ने निष्कर्ष निकालेको बताइएको छ ।

तीन दलका शीर्ष नेताहरूले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल आंशिक रूपमा सफल भएको निष्कर्ष पनि निकालेको निकट सहयोगीहरूको दाबी छ ।

निर्वाचनको सम्पूर्ण परिणाम आएसँगै संघ र प्रदेशको सरकार गठनका साथै अन्य विषयमा पनि छलफल गर्दै समझदारीमै अघि बढ्नेमा नेताहरू एकमत रहेको स्रोतको दाबी छ ।

अहिलेककै गठबन्धनको निरन्तरतासहित सभापति देउवा फेरि प्रधानमन्त्री बन्न सक्ने र उनी नै कांग्रेस संसदीय दलको नेता चयन हुने प्रबल सम्भावना रहेको आकलन गरिएको छ ।

तर कांग्रेस नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइरालाले मात्र होइन, महामन्त्री गगनकुमार थापाले पनि निर्वाचनअघि नै आफूलाई प्रधानमन्त्रीका रूपमा अघि सारेका छन् । निर्वाचनको अन्तिम परिणाम आएपछि हुने पार्टी संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने महामन्त्री थापाले बताउँदै आएका छन् । आजको नागरिक दैनिकममा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्