विराटनगर, २५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्जीवनका लागि आफूहरू तल्लो तहसम्म जाने बताएका छन् ।
पछिल्लो समय कांग्रेसप्रति युवापुस्ताको निराशा बढ्दै गएको पाइएकाले अब सुधारको अभियान सञ्चालन गरिने उनले बताए ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने, “पार्टी विधानानुसार धेरै अधिकार सभापतिमै निहित छ । अब उहाँले नै केन्द्रीय समितिको बैठक बोलाएर गठन गर्न बाँकी रहेका विभाग आदिलाई पूर्णता दिनुपर्छ ।”
आफूहरूप्रति अपेक्षा बढ्नु स्वभाविक भएको भन्दै उनले कांग्रेसको विधानले महासचिवले गर्ने कार्य निश्चित तोकेको र सोभन्दा पर गई केही गर्न नसकिने सुनाए ।
“धेरै अधिकार त सभापतिमा नै हुन्छ, तर हामी सभापतिले काम गर्नु भएन भनेर टुलुटुल बस्ने होइन, कांग्रेस रूपान्तरणको लागि तल कार्यकर्तापंक्तिमा पुग्छौँ,” उनले भने ।







