पोखरा, ३ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन भत्काएर भत्किएपछि कांग्रेसलाई संगठन बलियो बनाउने मौका मिलेको बताएका छन् ।
नेपाली कांग्रेस कास्कीद्वारा शनिबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीमा अहिले नयाँ ऊर्जा र शक्ति आएको हुनाले वर्तमान परिवेशमा निराश नभई अनुकूल अवसरका रुपमा लिन कार्यकर्तालाई आग्रह गरेका हुन् ।
उनले भने, ‘हामीले हामी भित्रको शक्ति कति छ भन्ने कुरा देखाएर जाने हो भने ०८४ को चुनावको नेतृत्व गर्ने पालो कांग्रेसकै आउने र निर्वाचन गराउने दायित्व समेत कांग्रेसको हुनेछ ।’ सरकारको नेतृत्व कांग्रेसले चाहेर नभई सरकारले नै पछ्याएर आउने दाबीसमेत उनले गरे । पार्टी भित्र रहेका केही विसंगति र बेतिथिलाई सुधार गरी अघि बढ्नुपर्ने उनको भनाइ छ ।
महामन्त्री थापाले महासमितिमा के के भयो र गठबन्धन किन गयो भनेर चिन्ता लिनुको अर्थ नभएको बताउँदै उप्रारान्त कांग्रेसले यस्तो गठबन्धन कहिल्यै नगर्ने समेत ठोकुवा गरेका थिए । सुन काण्डका बारेमा बोल्नुहुँदै थापाले सिआइबीले शक्तिशाली नेता र नेताका छोरालाई कार्बाही गर्न नसकेको भन्दै कार्वाही गर्नका लागि छानविन आयोग सही रहेको समेत धारणा राखेका थिए ।





