काठमाडौँ, २५ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ प्रदेश (ख) र वडा नं ३१ ले आज आयोजना गरेको ‘संयुक्त सम्मेलन’लाई आज उद्घाटन गर्दै उनले पार्टीलाई समय र परिस्थिति अनुसार परिवर्तन गर्दै लैजानुपर्ने बताएका हुन् ।
“देशको राजनीतिक अवस्था पहिलेको जस्तो छैन । समय र परिस्थिति अनुसार चल्न नसके आगामी दिनमा कांग्रेसलाई अफ्ठ्यारो पर्न सक्छ”, नेता सिंहले भने, “ठूलो पार्टी र इतिहासको मात्र कुरा गर्नुभन्दा आफूलाई परिवर्तन गर्दै लैजानुपर्छ ।” पार्टीले गरेका राम्रा कामलाई प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ थियो ।
पार्टीका पूर्व महामन्त्री सिंहले कांग्रेसले गरेका राम्रा कामलाई जनतामाझ लैजानुपर्ने भन्दै पार्टीभित्र मदभेद हुनु स्वभाविक भए पनि एकअर्कालाई दोष लगाएर कोही बलियो हुन नसक्ने बताए । कांग्रेस कमजोर हुँदा व्यक्ति बलियो हुन नसक्ने उनको भनाइ थियो । नेता सिंहले आबका दिनमा पार्टीलाई विधिसम्मत् ढङ्गले अगाडि बढाएर आगामी निर्वाचनमा थप बलियो हुनुपर्नेमा जोड दिए ।







